के सुनाऊँ खै कविता भनी ?
जुग भएछ
मनले खाएर एउटा कविता नकोरेको पनि।
बाका फाटेका पैताला
आमाको च्यातिएको मजेत्रो
गाउँका खाली घर
यी त सबैले सधैँ सुनेकै कुरा त हुन्
एउटै कुरा कति सुनाउनु ?
सुन्नेलाई पनि त झ्याउ लाग्ला नि !
के सुनाउनु ?
वर्षौंदेखि जमेर बसेको तालको पानीको कथा
चोटले पनि नफेरिने हाम्रो बनीको कथा
पानीफोका झैँ उठ्ने र फुट्ने आसको कथा
आशा टुटेपछि उठ्ने रिसको भडासको कथा ?
जीवन नै नबुझी फुलेको केशको कथा
सुकेको जङ्गल जस्तै जलेको देशको कथा ?
ऊ परार साल चुनावमा भेटेको नेता
फेरि गाउँ पसेको छ रे !
हिजो उसको गाडी फस्यो भनेर
गाउँका बचेका दुई-चार भुस्तिघ्रेहरू
गैँती-बेल्चा बोकेर गाडी धकेल्न जाँदै थे ।
अस्ति
त्यो नेता देख्न पाए काँचै खाऊँला जस्तो गरी
डूँक्रँदै थे पाजीहरू
आज टाङमुनि पुच्छर लुकाएर
लुते कुकुर झैँ कुइँकिँदै छन् ।
अनि मैले यस्ता लाछीहरूको कविता लेख्नु ?
कसरी लेखिन्छ र कविता पनि ?
बसेर कविता लेख्ने डाँडाको चौतारी छैन
सँगै बसेर कविता सुन्ने दौँतरी छैन ।
सन्तान र सासू-ससुरा कुरेर
परदेश पठाएको लोग्नेले
ऊ भन्दा रसिली भेटेपछि
घर कुर्नेलाई बिर्सेको कविता ?
घर बेचेर सपनाको देश पठाएकी जोई
उतैको लाठेसँग सल्किएपछि
पोई यता घर न घाट भएको कविता ?
के लेख्नु हौ यस्ता आँसुका कविता !
एउटा कविता लेख्ने मन छ
‘सफलता’ को शीर्षक राखेर ।
जुन कविता
गाउँको चौतारीमा बसेर
भएभरका युवाहरूलाई एकैपटक सुनाउन पाइयोस् ।
जुन कविता सुनेर
कोही एक्लिएको जोडीले लुकेर आँसु पुछ्न नपरोस् ।
बा-आमाले नाति-नातिनीको छेउमा बसेर
जोई-पोई टाँसिएर मस्किँदै
युवाहरूले जोस्सिँदै
तालीका पर्रा छुटाउन् !
जहिले आउला त्यो दिन
त्यही दिन सुनाउने छु
बिन्ती, मलाई आग्रह नगर्नु
मसँग आज कविता छैन ।

