म दिन–प्रतिदिन
मान्छेभित्रको मान्छे बुझ्दैछु
इतिहासका पाना पल्टाउँदै
वर्तमानको नाङ्गो ऐनामा
आफ्नै अनुहारमा मान्छेलाई हेरिरहेछु
निनिर्मेष, निर्वाक्, निरन्तर ।
पचास हजार वर्षको आयु नियाल्दा
प्रलय र महाप्रलयका छाया
दासप्रथा र धर्मान्धताका जरा
निर्दयी फाँसीका मञ्चहरू
नष्ट सभ्यताका मौन अवशेष
चंगेज खाँको छायामा हराएको मानवता
धर्मयुद्ध र विद्रोहले थिचिएको सभ्यता
रामायण, महाभारत, विश्वयुद्धका घाउ
हामी त यस्तै रहेछौँ, त बन्धु ।
इतिहासको डोरी सकिएपछि
वर्तमानको दैलोमा उभिएर
म निर्णयहीन साक्षी झैँ
आफैँभित्रको मान्छेलाई सोध्छु
के मान्छे सधैं यस्तै हो ?
प्रविधिको चकाचौँध बीच
इरानको आकाशबाट आगो झर्छ
त्यही आगोमा
सपनै बुनि नसकेका बालबालिका
अकालमै अस्ताउँछन् ।
युक्रेन जलिरहेछ
बदलाको ज्वालामा संसार धुम्मिँदै छ
ब्यारेक, बारुद, बम र गोलीका गुञ्जनबीच
अस्ति धर्मको नाममा उत्पीडन
हिजो उपनिवेशका नाममा साम्राज्य
आज नाफा र धनको जालोमा दुष्चक्र
हामी उही दोहोरिने कथा ।
तर
वर्तमानको बिसौनीमा उभिएर
म अझै आशा देख्छु
उज्यालोको भीडमा होइन
ज्ञानको सानो किरणमै…
जहाँ मान्छे
निष्काम भएर बाँच्न सिक्छ
आफ्नै लागि मात्र होइन
चराचर सबैका लागि ।
ठीक त्यही
क्षणबाट
इतिहास दोहोरिन छोड्नेछ…
र पहिलोपटक मान्छे
साँचिकै मान्छे हुनेछ ।

