साहित्यपोस्ट डट कम

कविता : के मन नै ईश्वर त होइन ?

कविता : के मन नै ईश्वर त होइन ?

मन, तिमी शरीरको कुन कन्दरामा लुकेका छौ ?

कोही भन्छन् मुटुमा, कोही भन्छन् निधारभित्र

तर तिमी त देखिन्नौ कतै, न कहीँ

तैपनि सारा संसार छ तिम्रै अधीनमा !

प्रकृतिका हरेक कण नियममा बाँधिएका छन्

सूर्य, चन्द्र, तारा सबै आ-आफ्नै लयमा ।

पृथ्वी घुम्छ नियमित गतिमा, ऋतुहरू आउँछन्-जान्छन्

देवता पनि ब्रह्माण्डीय नियमको पालनमा ।

तर तिमी, हे मन ! किन यति चञ्चल ?

एकै छिनमा गर्छौ अन्तरिक्ष यात्रा

फेरि अर्को पल डुब्छौ सागरको गहिराइमा ।

कहिले मरुभूमिको बालुवामा हराउँछौ

कहिले हिमालको चुचुरोमा पुर्‍याउँछौ !

तिमीलाई कसले बाँध्न सक्छ कुनै सीमामा ?

तिमी त शास्त्रभन्दा पनि पुरानो

नियमभन्दा पनि माथि

अनुशासनभन्दा परको वस्तु !

भगवानलाई कसैले देखेको छैन

तिमीलाई पनि कसैले देखेको छैन।

भगवानकाे खोजीमा मानिस भौँतारिन्छ

तर तिमी त हाम्रै शरीरभित्र छौ !

के तिमी नै भगवान् हौ ?

के तिमीले नै सृष्टि गरेका हौ ईश्वरलाई ?

किनकि तिमीले नै कल्पना गर्‍यौ उसलाई

तिमीले नै आकार दियौ उसलाई ।

जब समस्त ब्रह्माण्ड नियममा बाँधिएको छ

तब तिमी मात्र किन स्वतन्त्र ?

जब सबै कुराको सीमा छ

तब तिमी मात्र किन असीम ?

यसैले भन्छु, हे मन !

तिमी नै सृष्टिकर्ता हौ

तिमी नै संहारक हौ

तिमी नै भगवान् हौ

र तिमी नै भक्त पनि !

आफैँलाई खोज्ने आफैँ बनेको छ

आफैँलाई पुज्ने आफैँ बनेको छ ।

यो संसारको सबैभन्दा ठुलो रहस्य

के तिमी नै हौ ?

हे मन, के तिमी नै हौ ?

मन:

“त्वया कल्पितमेवेदं नानाशास्त्रादिकल्पनम्।

त्वमेवैकः परं ब्रह्म किम् अन्यत् परिभाव्यते॥” — अष्टावक्र

(तिमीले नै यो सबै कल्पना गरेका हौ – शास्त्रहरूको, संसारको। तिमी नै परब्रह्म हौ। अरु के सोचिरहेछौ ?)

के मन नै ईश्वर हो ? या ईश्वर नै मनको रुपमा प्रकट भएको हो ?

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.