मन, तिमी शरीरको कुन कन्दरामा लुकेका छौ ?
कोही भन्छन् मुटुमा, कोही भन्छन् निधारभित्र
तर तिमी त देखिन्नौ कतै, न कहीँ
तैपनि सारा संसार छ तिम्रै अधीनमा !
प्रकृतिका हरेक कण नियममा बाँधिएका छन्
सूर्य, चन्द्र, तारा सबै आ-आफ्नै लयमा ।
पृथ्वी घुम्छ नियमित गतिमा, ऋतुहरू आउँछन्-जान्छन्
देवता पनि ब्रह्माण्डीय नियमको पालनमा ।
तर तिमी, हे मन ! किन यति चञ्चल ?
एकै छिनमा गर्छौ अन्तरिक्ष यात्रा
फेरि अर्को पल डुब्छौ सागरको गहिराइमा ।
कहिले मरुभूमिको बालुवामा हराउँछौ
कहिले हिमालको चुचुरोमा पुर्याउँछौ !
तिमीलाई कसले बाँध्न सक्छ कुनै सीमामा ?
तिमी त शास्त्रभन्दा पनि पुरानो
नियमभन्दा पनि माथि
अनुशासनभन्दा परको वस्तु !
भगवानलाई कसैले देखेको छैन
तिमीलाई पनि कसैले देखेको छैन।
भगवानकाे खोजीमा मानिस भौँतारिन्छ
तर तिमी त हाम्रै शरीरभित्र छौ !
के तिमी नै भगवान् हौ ?
के तिमीले नै सृष्टि गरेका हौ ईश्वरलाई ?
किनकि तिमीले नै कल्पना गर्यौ उसलाई
तिमीले नै आकार दियौ उसलाई ।
जब समस्त ब्रह्माण्ड नियममा बाँधिएको छ
तब तिमी मात्र किन स्वतन्त्र ?
जब सबै कुराको सीमा छ
तब तिमी मात्र किन असीम ?
यसैले भन्छु, हे मन !
तिमी नै सृष्टिकर्ता हौ
तिमी नै संहारक हौ
तिमी नै भगवान् हौ
र तिमी नै भक्त पनि !
आफैँलाई खोज्ने आफैँ बनेको छ
आफैँलाई पुज्ने आफैँ बनेको छ ।
यो संसारको सबैभन्दा ठुलो रहस्य
के तिमी नै हौ ?
हे मन, के तिमी नै हौ ?
मन:
“त्वया कल्पितमेवेदं नानाशास्त्रादिकल्पनम्।
त्वमेवैकः परं ब्रह्म किम् अन्यत् परिभाव्यते॥” — अष्टावक्र
(तिमीले नै यो सबै कल्पना गरेका हौ – शास्त्रहरूको, संसारको। तिमी नै परब्रह्म हौ। अरु के सोचिरहेछौ ?)
के मन नै ईश्वर हो ? या ईश्वर नै मनको रुपमा प्रकट भएको हो ?

