सामाजिक संस्कार र रूढीवादको
विकृति र कुरीतिको
सिङ्गो प्रहार
तिमीले सहनुपर्यो।
फेरि सहनुपर्यो
हजारौँ यातना
वंश थाम्ने र क्रिया गर्ने
छोराका नाममा ।
आमा !
दिनभरि काम गरेर
थाकेर फर्किँदा पनि
असाध्यै
शारीरिक र मानसिक
बोझ हुँदाहुँदै
तिमी
असल बुहारी भयौ ।
चुलो–चौको, घरधन्दा
सबै भ्यायौ ।
हजारौँ पीडा
चुपचाप सहेपछि मात्र
तिमी “असल” भयौ।
आमा !
यत्रो सङ्घर्ष भोग्दा पनि
यो समाजले तिमीलाई
बुझ्न सकेन ।
पूर्ण भनिएको त्यो छोरो
नजन्माएको निहुँमा
शब्दका तिरहरू
प्रहार गरिरह्यो समाजले ।
हाँस्न नपाएका
तिम्रा दिन, सुत्न नपाएका
ती रातहरू, बाँच्न नपाएका
तिम्रा जीवनहरू
समाजले
देखेन आमा !
तिमीले भोगेको पीडा
समाजले सहेन
बरु
“पूर्ण” छोरोको निहुँमा
तिमीमाथि प्रहार गरिरह्यो।
तिम्रा दुःखका दिनमा
समाज केही बोलेन
तिम्रो आँसु पुछेन
तिम्रो पीडा देखेन
समाज चुपचाप बस्यो।
आमा !
तिमीले
एउटी छोरी भएर
छोरी जन्मायौ
तर
तिमी छोरी
र तिमीले जन्माएकी छोरीलाई
समाजले कहिल्यै
पूर्ण मानेन ।
आज पनि
समाजले सोध्छ
“किन छोरा जन्माइनौ?”
समाजलाई किन
तिम्रै छोरा चाहिएको छ ?
संस्कारका निहुँमा
धर्मका नाममा
किन
छोरा र छोरीबीच
विभेद गरिन्छ ?
म छोरी पनि त
घरको सारा काम
जिम्मेवारी बोध
गरिरहेकाे छु।
म
माया बाँड्न सक्छु
घर–व्यवहार चलाउन सक्छु
कार्यालय चलाउन सक्छु
देश हाँक्न सक्छु !
ओ समाज !
म बाँचेको यो समाज
म सोध्छु,
स्पष्ट र दृढ भएर
के म पूर्ण छैन र ?

