साहित्यपोस्ट डट कम

कविता : के गर्छौ लडेर ?

कविता : के गर्छौ लडेर ?

कलियुग आयो द्वन्द्वले छायो संसार छ युद्धमा

मान्छेको मन फेरियो किन? बस्दैन बुद्धमा ।

सत्यको बाटो ओझेलमा पार्दै झुटको राज भयो

जो बोल्छ साँचो उसैलाई पासो देखिँदै गइरह्यो ।

धनको दम्भ लिएर मान्छे बहादुरी देखाउँछन्

मनको भाव मेटाई केवल अक्षर लेखाउँछन् ।

न आफ्ना बन्ने आफन्तजस्ता पराई टाढा झन्

विश्वासको डोरी छिनाई हिँड्ने लाखौँ यहाँ छन् ।

ठुलो र सानो छुट्याउने आँखा निकै नै बेइमान

असत्य गर्दै सत्यलाई जित्ने आएको जमाना ।

मायाको किनबेच हुँदै छ कतै बजारको कोठामा

किशोरी बाला मारिए कति पीडा लिई ओठमा ।

कति छन् नाङ्गा कति छन् भोका सङ्घर्ष गर्ने

मौकाको फाइदा उठाउने मात्रै अगाडि सर्ने ।

धुवाँको मुस्लो निल्दै छ आकाश मुहार छोपेर

धर्तीले आगो सहन्छ कति? आफूलाई जोतेर ।

खाडीको हावा रोएर आज सुस्केरा हाल्दै छ

युद्धको मारले संसारभरि अँध्यारो फाल्दै छ ।

जूनले निल्यो धुवाँको मुस्लो पानीले खरानी

बालबच्चा वृद्ध साराको उड्यो हावामा परानी ।

ढोलक बज्यो ढ्वाङढ्वाङ गर्दै आकाश गर्जियो

सन्त्रास दिँदै मान्छेको मनमा युद्ध झन् चर्कियो ।

सिमानामा बल्यो आगोको पप्का आँसुको भेल भयो

हरायो आज ओठको हाँसो घर–आँगन जेल भयो ।

न आमाबाबा न ऐया–आत्थु भन्न नै भ्याएका

रगतको धारा छुटाई सारा स्वर्गलोक गएका ।

दुधे ती बालक रोएका कति दूध खोज्छन् रातमा

आमाको शरीर जलेर गयो दूध छैन आँतमा ।

शान्तिको कुरा गरेर शासक भ्रम छर्दै डुलेका

शक्तिको खेलमा युद्ध र आगो दिएर झुलेका ।

धनी त आखिर जोगिए बाँचे गरिब नै थिचिए

युद्धको चोटले तड्पियो छाती अति नै मिचिए ।

रगतले पोत्यो यो धर्ती सारा आँसुको भेलमा

कहिले आउला सुनौलो बिहान आँगन टोलमा ?

नभए देश कहाँ हुन्छ भेष के गर्छौ लडेर

मानवभित्र दानवता भए के काम भो पढेर ?

दुई हात जोडी बिन्ती यो गरेँ युद्ध भो चाहिएन

युद्धको डरले मुटु नै काँप्यो काम गर्न पाइएन ।

अब त सुन जनताको पुकार भो युद्ध छाडिदेऊ

राष्ट्रको शिर उठाई सबलाई ममता बाँडिदेऊ ।

युद्धको विराम गरिदेऊ हात मिलाउन आऊ न

शान्तिको दीप जलाई अब धर्तीलाई जोगाउन ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.