लोकेन्द्र राज गिरी
पिण्डदान गर्ने उमेर
सत्ताको लाइनमा छ
लासको सम्झना बोकेर
नेतृत्व गर्ने
यो कस्तो राजनीति हो ?
ओठमा रेखी नबसेको बालक
मञ्चमा चिच्याउँछ
भविष्यको नाममा
आज लुट्ने अधिकार माग्दै ।
रिटायर्ड कर्मचारी फर्किए
सेवा सकियो,
लोभ सकिएन ।
सेना–प्रहरी
वर्दी उतारेर
सत्ता रोज्छन्
राष्ट्र-कसम
कबाडमा फालियो ।
देश छोड्ने यहीँ
नागरिकता त्याग्ने यहीँ
फेरि ‘देशभक्त’ पनि यहीँ !
लाजले आत्महत्या गर्ने
ठाउँ छैन यो देशमा ?
चोरी यहाँ अपराध होइन सिफारिस हो
ठगी यहाँ बदनाम होइन योग्यता हो
डकैती यहाँ राजनीतिक अनुभव हो।
आयातित नवनागरिक
नीति लेख्छ
देश
दलालको डायरीमा चल्छ ।
जातको नाममा भोट
जनजातिका नाममा सौदा
महिलाका नाममा भाषण
दलितका नाममा सहानुभूति
सबै प्रयोग हुन्छन्
न्याय कहिल्यै हुँदैन ।
तराई–पहाड–हिमाल
नारा मात्रै हो
पीडा एउटै छ
उपेक्षा ।
स्वतन्त्र नामधारी
सबैभन्दा ठुलो ढोंगी !
नसा गाँजामा होइन कुर्सीमा छ
मदिरा बोतलमा होइन सत्तामा छ ।
शिक्षकले नारा सिकाउँछ
विद्यार्थीले झन्डा बोक्छ
कर्मचारी दलको दलाल बन्छ
सबै राजनीति गर्छन्
राजनीति कतै छैन ।
सबै ‘देश बनाउँछु’ भन्छन्
देश कतै बन्दैन ।
किन ?
किनभने यो देश
अब देश होइन !!!

