साहित्यपोस्ट डट कम

कविता : कालो चस्मा र भुइँमान्छे

कविता : कालो चस्मा र भुइँमान्छे

सुनको मुकुटमुनि बसेको मनुवाले

आफूलाई विष्णुको अवतार सम्झिँदा हुन् ।

कालो चस्माको किनारामा लागेको सुनको घेराको धर्कोले

लसुन खानकै निमित्त तरकारीको रूपमा मासु चाहिने

र मासु खानकै लागि चाडवाड कुर्नेहरूलाई पनि

पहेँलपुर देख्दा हुन् ।

कालो चस्माबाट संसार हेर्नेले

दिउँसो पनि अँधेरै देख्दा हुन्, बिल्कुल अँधेरो ।

टन्टलापुर घाम लागे पनि, अँधेरो जताततै अँधेरो देख्दा हुन्

सूर्यमुनि, बत्तीमुनि, टेबल ल्याम्पमुनि ।

थापाथलीको बागमती खोला तर्दै गर्दा अक्सर महसुस गर्छु

“यस्तो गन्हाउने ठाउँमा यसै कोही किन बस्छ र ?”

रहर हुन्न र! सबैलाई आलिसान महलमा बस्न ?

रहर हुन्न र! सबैलाई बर्खामा रिमझिम पानी पर्दा आनन्दले निदाउन ?

रहर हुन्न र! टिपटिप वर्षाको पानीमा कम्मर मर्काउन ?

पहिरो जाँदा बगाएर लगेको खेतको लालपुर्जाले

जग्गाधनी देखाउने भए— सबै व्यक्ति धनी हुँदा हुन् ।

अरबबाट कमाएर ल्याएको आधा तोला सुन लाउँदैमा

उनीहरू घर किन्न सक्ने भए

उनको दरबारअगाडि आलिसान हवेली किन्दा हुन् ।

भुइँचालोले फाटेको गैह्रीखेतको धाजाभन्दा बढी मन फाटेकाहरूलाई

के रहर हुँदो हो— प्रत्येक वर्ष पानी परेपछि

सुत्केरी स्वास्नी र काखे बालक काखमा लिई रातभरि जागा हुन ?

मौसुफको समयमा छोरीचेलीलाई दरबारमा बेचेर

निगाहमा जग्गा जोडेकाहरूले

पाल टाँगेर बसेकाहरूलाई

‘अतिक्रमणकारी’ देख्नु स्वाभाविक हो कमरेड !

आफूले पाए ‘आशिर्वाद’, अरूले पाए ‘चाकडीबाज’ ।

सुन्दैनन् राजकुमारीका पिताले

पालमुनि दिनदहाडै बलात्कृत हुने अङ्गिराहरूको कथा ।

यिनले बुझ्दैनन् अस्पतालमा लाइन लाग्दा–लाग्दा

बिरामी हुने बिरामी–कुरुवाको व्यथा ।

कसम कमरेड! दरबारको पप्पीले

दरबारबाहिरको आफू जस्तै कुकुरलाई

‘भुस्याहा कुकुर’ सम्झिन्छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.