सुनको मुकुटमुनि बसेको मनुवाले
आफूलाई विष्णुको अवतार सम्झिँदा हुन् ।
कालो चस्माको किनारामा लागेको सुनको घेराको धर्कोले
लसुन खानकै निमित्त तरकारीको रूपमा मासु चाहिने
र मासु खानकै लागि चाडवाड कुर्नेहरूलाई पनि
पहेँलपुर देख्दा हुन् ।
कालो चस्माबाट संसार हेर्नेले
दिउँसो पनि अँधेरै देख्दा हुन्, बिल्कुल अँधेरो ।
टन्टलापुर घाम लागे पनि, अँधेरो जताततै अँधेरो देख्दा हुन्
सूर्यमुनि, बत्तीमुनि, टेबल ल्याम्पमुनि ।
थापाथलीको बागमती खोला तर्दै गर्दा अक्सर महसुस गर्छु
“यस्तो गन्हाउने ठाउँमा यसै कोही किन बस्छ र ?”
रहर हुन्न र! सबैलाई आलिसान महलमा बस्न ?
रहर हुन्न र! सबैलाई बर्खामा रिमझिम पानी पर्दा आनन्दले निदाउन ?
रहर हुन्न र! टिपटिप वर्षाको पानीमा कम्मर मर्काउन ?
पहिरो जाँदा बगाएर लगेको खेतको लालपुर्जाले
जग्गाधनी देखाउने भए— सबै व्यक्ति धनी हुँदा हुन् ।
अरबबाट कमाएर ल्याएको आधा तोला सुन लाउँदैमा
उनीहरू घर किन्न सक्ने भए
उनको दरबारअगाडि आलिसान हवेली किन्दा हुन् ।
भुइँचालोले फाटेको गैह्रीखेतको धाजाभन्दा बढी मन फाटेकाहरूलाई
के रहर हुँदो हो— प्रत्येक वर्ष पानी परेपछि
सुत्केरी स्वास्नी र काखे बालक काखमा लिई रातभरि जागा हुन ?
मौसुफको समयमा छोरीचेलीलाई दरबारमा बेचेर
निगाहमा जग्गा जोडेकाहरूले
पाल टाँगेर बसेकाहरूलाई
‘अतिक्रमणकारी’ देख्नु स्वाभाविक हो कमरेड !
आफूले पाए ‘आशिर्वाद’, अरूले पाए ‘चाकडीबाज’ ।
सुन्दैनन् राजकुमारीका पिताले
पालमुनि दिनदहाडै बलात्कृत हुने अङ्गिराहरूको कथा ।
यिनले बुझ्दैनन् अस्पतालमा लाइन लाग्दा–लाग्दा
बिरामी हुने बिरामी–कुरुवाको व्यथा ।
कसम कमरेड! दरबारको पप्पीले
दरबारबाहिरको आफू जस्तै कुकुरलाई
‘भुस्याहा कुकुर’ सम्झिन्छ ।

