समाजमा अहिले नयाँ युग
आएको छ
जहाँ पहिले बाजागाजा
सहित सतीलाई जिउँदै
जीवन आहुति दिन लगाइन्थ्यो
तमाम नारीहरूले आफूलाई
चिन्न नपाउँदै कुनै पुरुष
साम्राज्यमा आफ्नो
चलिरहेको सास नै अर्पण गरी
सक्नु पर्दथ्यो, रीतिथिति वा
केहीको नाममा जहाँ मानवता
गन्ध समेत थिएन सृष्टिकी जननी स्त्रीको
निमित्त ।
आज समय सँगै आगोका रापहरू
तेज भए
उन्नति, विकास र प्रगतिका नारा
सशक्त भएर विश्व आकाश नै
नारी दिवसका नाराहरूले
गुन्जिरहँदा कहिँ हिंस्रक तत्वहरू
चलायमान भएका कुनाहरूमा
अग्रज, नेता वा मान्य बनेर
पनि चेतनामा दुष्टताले भरिएका
कुनाहरूमा
चाहे अफिसको नाममा होस्
चाहे देशको नाममा होस्
चाहे कुनै सङ्गठनको नाममा होस् त चाहे
एउटा सानो घर नै किन नहोस्
अब परिपक्व विचारलाई आफ्नो
अनुभव र भोगाइले
अग्रज वा अनुज पुस्ताप्रति विनम्रता
र मिहिनेतको बुँद बुँदले मन
जित्नु पर्ने ठाउँमा
धाक, धम्की, विभेद, अपमानको
विष पिलाउन खडा
गर्दछ त्यो सामर्थ्यवानले
आफ्नो अहम्ताको प्रदर्शन
त्यो निरीह र कमजोरमा गर्दछ,
तब सत्यको ज्योति
एउटा नयाँ युग लिएर जन्म हुन
पुग्दछ कुनै समय,
तर त्यस बखत धेरै सहनशीलताको
तक्मा खडा गराएर
पुरस्कृत गराउने अनि जीवन नै
लिलाम गर्ने जुन कूटनीतिक कैद
खडा गरिन्छ केवल
कमजोर पात्र वा शक्तिहीन जीवन
वा मानवहरूले घेरिएर पनि आफ्नो
सङ्घर्षले एक्लिएको
पराईको बीभत्स चालमा जीवन
अर्पण गरेर भोलिको
उज्यालोको आशामा आफूलाई
क्रूर अँध्यारोमा जीवन विसर्जन गरिसकेको
सन्तान, कर्तव्य
चलन र त्याग तपस्याको नाममा
हरदम गलत दिशामा चलेका
अग्रजहरूको पन्जामा परेका
आफ्नै कर्तव्यबोधका गाँठो
फुकाउन असमर्थ
पात्र
जसको रिहाई केवल मृत्यु पश्चात् मात्र
छ
जसको आवाजहरू समाचारका
भित्ताहरूमा मृत्यु पछि मात्र गुन्जिन्छन्
जसको आँखाको आँसुको मूल्य
बलि चढिसकेपछि मात्र तोकिन्छ,
जसको पहिचान जीवन सकिएपछि
मात्र कोर्न थालिन्छ
ती हुन् कोमल, कर्तव्य परायण
नारी पात्र
जो जीवन आहुति दिएर पनि
निसङ्कोच आफ्नो आँगनीको दर्शन
नपाई ब्रह्माण्डबाट बिदा लिनु पर्छ,
जसले प्रेमको सृष्टि रचेर पनि
प्रेमको बुँद नपाई छटपटी बीच
जीवन सकाउनु पर्छ
उनलाई आफ्नो प्राण सिर्जना भएको
काख र माटोबाट चुँडेर गज्जबको
धुन बजाइन्छ
आफ्नो संसार निर्माणका लागि
भन्दै झुटो भुमरी खडा गरी
पुरुषको साम्राज्य भित्रका
केही थान हिंस्रक नारीकै आकृतिको
समेत खेलले
समग्र कोमल मानव मूल्य समेत
तिलाञ्जली दिँदै
झनै धराशायी धरातल निर्माण हुँदैछ
जस्तो भान हुन्छ
त्यसैले त आजकल दाइजोको
नाममा खुट्टा काटिएका खबरले
फेरि अर्को कम्पन ल्याएको छ,
श्रीमान्को यातनाले बच्चा सहित
भेरीमा हाम फालेको नारीको
खबरले नदीहरू सबै रोएका छन्
आफ्नै प्रेमीलाई अस्तित्वको
बलिदान दिई सके पछि एक कलिलो
किशोरीले जीवन धान्ने प्राण सहित
इज्जतको लिलामी पनि मृत्यु पछि
गराइरहनु परेको छ
यहाँ भ्रूण, बालिका, किशोरी हुँदै
सृष्टि कर्ता महिला बनिसक्दा सम्म
नारीहरू धेरै पटक मरेर जीवित भएका
छन्
आखिर एक पटक मर्नु र नारी भएर पटक
पटक मर्नु झनै कष्टकर होइन र ??
आखिर यो चक्रव्यूहको
परिकल्पनाकार सज्जन र कोमल तत्वको
घोर शत्रु हुनु पर्छ जसले
हर कमजोर स्त्री पात्रलाई अभिमन्युको
स्वरूपमा महाभारत जस्तो
जीवन युद्धमा समाहित गर्दै
बाँकी सेना तर्साउन एउटा पात्रलाई
दैनिक जसो तड्पाएर सकाउँदैछ
निस्सन्देह अपराधको ढोलक
बजाइरहेछ ।

