तपाईँको जन्मबारे केही जान्दिनँ काका
तर जान्दछु तपाईँ हुर्किएका पाखा र पखेराहरू
तपाईँ गाउँबेँसी गरुन्जेल बाटोको दायाँबायाँ
तपाईँलाई झस्काइरहने काला ढुङ्गाहरू ।
यसै भन्न सक्दिनँ कसले सिकायो तपाईँलाई
मार्क्सवादका वर्ग–सङ्घर्षहरू र समाजवादका चरहरू
यो पनि भन्न सक्दिनँ तपाईँ किन, कसरी र कहिलेबाट
यति एकोहोरो राजनीतिक प्राणी बन्नुभो ?
म आफैँ अन्योलमा छु, उत्तर खोजिरहेको छु
यो उमेरमा अब आत्ममूल्याङ्कन गर्नुहोला कि नहोला
अर्काका कुरा सुन्नुहोला कि नहोला, तर मलाई भन्न मन छ
जगतका केही पाठहरू पाकेको उमेरले पनि सिकाउँदैन काका !
पार्टी एउटा साधन हो काका, साध्य होइन
पार्टी एउटा विचार हो काका, सम्बन्ध होइन
पार्टी एउटा जीवन हो काका, जड होइन
पार्टी एउटा कर्म हो काका, नाम होइन ।
हात–हातमा प्राप्त हुने सूचनाको बाढीले त
भित्रैदेखि बिगारेछ काका तपाईँलाई !
अहिलेको समय निकै फरक छ काका
खलेगर्होमा आमसभा गरेजस्तो होइन ।
गुण र सहानुभूति नखोज्नुहोला काका,
किनकि राजनीति एउटा निर्मम परीक्षण हो
लगानीका हिसाबकिताब पनि नखोज्नुहोला
किनकि राजनीति समताको लेखाजोखा हो ।
आजभोलि मुद्दा र सूचनाभन्दा धेरै अफवाहहरू हुन्छन्
हरेकमा बोलिहाल्न र लेखिहाल्न पर्दैन काका
बोल्नभन्दा नबोल्न धेरै ठूलो क्षमता चाहिन्छ
रिसाउनभन्दा नरिसाउन धेरै ठूलो शक्ति चाहिन्छ काका !
एकोहोरो हुँदा तपाईँको पार्टी र राजनीतिलाई मात्र होइन
स्वयम् तपाईँलाई पनि घाटा छ काका, विचार सङ्कुचित बन्छ
क्षितिज खुम्चिन्छ, राजनीतिक बन्न समालोचनात्मक चेत चाहिन्छ काका ।
अलिकति समयलाई पनि बुझ्नुहोस् काका
यो समयले केही न केही क्षमताको खोजी गर्छ
राति निद्रा नलागेको बेलामा यसो सोच्नुस् त काका
तपाईँको व्यक्तित्व, विज्ञता र क्षमता के हो ?
अगाडि पर्दाको प्रशंसा सफलता होइन काका
छोराछोरीको भए पनि आदर्श व्यक्ति बन्न सक्नुपर्छ
अरूलाई ढाँटे पनि आत्मालाई ढाँट्नुहुँदैन काका
आलोचनालाई पनि पुँजी मान्न सक्नुपर्छ।
असल मानिसहरू प्रतिक्रियात्मक हुँदैनन् काका
साझा मुद्दामा ईर्ष्या, कुण्ठा र स्वार्थ पालेर बस्दैनन्
भाउ खोज्दै हिँड्दैनन्, आफ्नो मूल्य सिर्जना गर्दछन्
अनियन्त्रित भावना पोखेर आफ्नै कमजोरी देखाउँदैनन् काका !

