साहित्यपोस्ट डट कम

कविता : काकाहरूको अँगालो

कविता : काकाहरूको अँगालो

काकाहरू

समयको ढुङ्गामा टेकेर

इतिहासका पानाहरू पल्टाउँदै

तपाईँहरूका ऊर्जाशील दिनहरू सकिए

तर भाइ भतिजाहरू भविष्यको कागजमा

नयाँ अक्षर कोरिरहेका छन्

देश समुन्नत बनाउने खाका कोरिरहेका छन् ।

किन डराउनुहुन्छ

उनीहरूको उज्यालोबाट ?

जब त्यो उज्यालो तपाईँले नै बालिदिएको

दियोको निरन्तरता हो !

आउनुस्, एकपटक प्रेमले अँगालो हालौँ

अहङ्कारका काँडाहरू हटाएर

क्षमाशीलताको बीज रोपौँ

मनको बगैँचामा करुणाको फूल रोपौँ ।

बुद्धजस्तै निश्चल भएर त्याग्न सिकौँ

दरबार, पत्नी र पुत्रसमेत ।

क्षणभर बसौँ जहाँ न त पदको होड छ

न त स्वार्थको धुवाँ केवल शान्ति

निर्मलता र सत्यको सुगन्ध आइरहोस् ।

समय बगिरहेछ

तर प्रेम समयभन्दा ठूलो नदी हो ।

यस नदीमा पुरानो पुस्ताको अनुभव

र नयाँ पुस्ताको ऊर्जा दुवै मिसिएर

देशको भविष्य बन्छ ।

काकाहरू, भाइ भतिजाहरूको क्षमता स्वीकारिदिनुस्

यो तपाईँको हार होइन

यो त राष्ट्रको जित हो ।

अँगालो हालिदिनुस्

किनकि अँगालो हातको स्पर्श मात्र होइन

मनको खुलापन हो

विश्वासको पुल हो

भविष्यको ढोका हो ।

हामी सबै बुद्धको देशका सन्तान

शान्तिको बीउ बोकेका यात्रु ।

आउनुस्, एक अर्कालाई अँगालो हालौँ

एक अर्कालाई स्वीकारौँ

र एक अर्काको उज्यालोमा देशलाई उठाऔँ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.