काकाहरू
समयको ढुङ्गामा टेकेर
इतिहासका पानाहरू पल्टाउँदै
तपाईँहरूका ऊर्जाशील दिनहरू सकिए
तर भाइ भतिजाहरू भविष्यको कागजमा
नयाँ अक्षर कोरिरहेका छन्
देश समुन्नत बनाउने खाका कोरिरहेका छन् ।
किन डराउनुहुन्छ
उनीहरूको उज्यालोबाट ?
जब त्यो उज्यालो तपाईँले नै बालिदिएको
दियोको निरन्तरता हो !
आउनुस्, एकपटक प्रेमले अँगालो हालौँ
अहङ्कारका काँडाहरू हटाएर
क्षमाशीलताको बीज रोपौँ
मनको बगैँचामा करुणाको फूल रोपौँ ।
बुद्धजस्तै निश्चल भएर त्याग्न सिकौँ
दरबार, पत्नी र पुत्रसमेत ।
क्षणभर बसौँ जहाँ न त पदको होड छ
न त स्वार्थको धुवाँ केवल शान्ति
निर्मलता र सत्यको सुगन्ध आइरहोस् ।
समय बगिरहेछ
तर प्रेम समयभन्दा ठूलो नदी हो ।
यस नदीमा पुरानो पुस्ताको अनुभव
र नयाँ पुस्ताको ऊर्जा दुवै मिसिएर
देशको भविष्य बन्छ ।
काकाहरू, भाइ भतिजाहरूको क्षमता स्वीकारिदिनुस्
यो तपाईँको हार होइन
यो त राष्ट्रको जित हो ।
अँगालो हालिदिनुस्
किनकि अँगालो हातको स्पर्श मात्र होइन
मनको खुलापन हो
विश्वासको पुल हो
भविष्यको ढोका हो ।
हामी सबै बुद्धको देशका सन्तान
शान्तिको बीउ बोकेका यात्रु ।
आउनुस्, एक अर्कालाई अँगालो हालौँ
एक अर्कालाई स्वीकारौँ
र एक अर्काको उज्यालोमा देशलाई उठाऔँ।

