देवादिदेव महादेव !
तिमी समाधि खोल
मौनता तोड
आजभोलि
नेमुनिद्वारा पालित देशमा
एक उद्वण्डले
मार्चपास गरिरहेको छ ।
घोर विधर्मीले
सनातनको मुटुमा
छुरा रोपिरहेको छ ।
भगवान् ! केही त
गर्नैपर्छ तिमीले !
त्यो विधर्मी
तिम्रो द्वार भएर हिँड्छ ।
युगौँदेखि देव भनिएका तिमीमाथि
अनास्था फैलाउँछ ।
सदियौँदेखिका ताजपोश ख्वामितविरुद्ध
मुर्दावादको नारा घन्काउँछ ।
त्यसले तिम्रो पाऊमा कहिल्यै
एक रुपैयाँ दाम चढाएन
त्यसले तिम्रो सामुन्ने कहिल्यै
श्रद्धाको शिर झुकाएन ।
त्यो विधर्मी अति अहङ्कारी छ ।
परम्परागत सत्तामाथि धावा बोल्छ !
तर्कको मदानीले
देवत्वलाई मथ्न खोज्छ ।
भीडहरू जम्मा गर्दै
परखको सिद्धान्त पढाउँछ ।
यस्तो लाग्छ सायद त्यो
शम्बूकको सन्तान हो ।
एउटा बर्जित शूद्र !
नेमुनिद्वारा पालित यस देशमा
शूद्रागमनमा प्रतिबन्ध लगाऊ ।
ईश्वरीय शक्ति जागृत गरी
घण्टाकर्णलाई चारभञ्ज्याङ कटाऊ ।
घण्टाकर्णको उपद्रो
अति भो भगवान् !
सहनशीलताको पनि सीमा हुन्छ !
भद्रता तोड
रौद्र रूप धारण गर ।
उसलाई शीघ्रातिशीघ्र
हतकडी लगाऊ !
नेल ठोक !
तत्काल देवसभा बोलाऊ !
नारदको राय लेऊ ।
वंशवृक्ष रक्षाको लागि
मृत्यु गीतको सफाया गर !
तिम्रो हेलचक्र्याइँले
इष्टदेवहरू
चिडियाखानाका खोरमा बसाइँ सरेका छन् ।
मानादानीहरू
मुठीदानीमा झरेका छन् ।
तिम्रो लाचारीका कारण
भक्तहरूले गुल्जार मन्दिरहरू
सुनसान हुन थालेका छन् ।
त्यसैले तत्काल कारबाहीमा उत्र
शम्बूकको शीघ्रातिशीघ्र घेराबन्दी गर !
सेना लगाई गिरफ्तार गर !
त्यो कर्कस विधर्मी आवाजलाई
फेरि कहिल्यै नसुनिने गरी
डिजिटल उपकरणबाट समेत
डिलिट गर ।
उक्त विधर्मी आफूलाई
रक्तबीज हुँ भन्छ
दरबार र महलहरूमा पसेर
इमानदारी र पसिनाको गन्ध सुँघ्छ !
तिमीलाई के थाहा !
आजभोलि ऊ मेरो सपनामा आउँछ
विकराल स्वरूपमा प्रकट हुन्छ
प्राणपखेरु उडलाझैँ ऐठन गर्छ
लाग्छ उसँग अपार तागत छ ।
तर म कसरी हार मानूँ ?
यो परम्परागत विरासत कसरी सुम्पूँ ?
म सपनामा अत्तालिँदै भाग्छु
ऊ तरवार हातमा लिएर
परिवर्तन! परिवर्तन !
भन्दै लखेट्न थाल्छ ।
मेरो दुःखद अन्त्य
उसको सुखद सुरुवात रे !
ऊ भन्छ म वर्तमान हुँ
ऊ भन्छ म भविष्य हुँ
शताब्दीयौँदेखि धर्तीको गर्भमा दमित
ज्वालामुखीको तातो लाभा हुँ !

