साहित्यपोस्ट डट कम

कविता : जिउँदो प्रेमको दस्ताबेज

कविता : जिउँदो प्रेमको दस्ताबेज

एक दिन मेरो माया, मेरो अनुराग

कसो नलाग्ला र तिमीलाई ?

आज तर्किएर हिँडेका छौ शब्दका घाउ बोकेर

भोलि फर्किन मन कसो नलाग्ला र तिमीलाई !

एक दिन सबैसँग अघाएपछि

जीवनका स्वादले तृप्त भएपछि

मेरो प्रेमको आत्मिक तिर्खा याद आउनेछ तिमीलाई ।

एक दिन सबैको बिछ्यौनाले ऐठन गर्न थालेपछि

मेरो आत्मीय अङ्गालोको याद आउनेछ तिमीलाई ।

त्यतिबेला निसङ्कोच

मेरो रित्तो अङ्गालो अविचल प्रतीक्षामा तिम्रै निम्ति बसिरहेको हुनेछ ।

तिमी आउँछौ पक्कै

मलाई थाहा छ

मेरो बुढो जवानी तर खाली सिउँदो

आशा र भरोसासहित तिम्रै प्रतीक्षामा बसिरहेको हुनेछ।

त्यतिबेला मेरो बुढ्यौली लाग्दै गरेको गाला पनि सौम्य र कोमल

चम्किलो लाग्नेछ तिमीलाई ।

मेरो फुल्दै गरेको केशमा बेली-चमेली सिउरिदिन मन लाग्नेछ तिमीलाई ।

हामी जवानीमा सँगै नखेलेको रङ

यो बुढेसकालको होलीमा जीवनयात्राको रङ रङ्गीचङ्गी खेल्नेछौँ ।

तिमी घुँडा दुखेको बहाना गर्नेछौ

म तातो तेलमा मेथी फुर्‍याएर

समर्पण र ममताले तिमी सुतेको ओछ्यानमा आउनेछु ।

जब हाम्रो पहाडको घरमा

हामीले पालेको कालो पोथीले ओथारो बसेर चल्ला काढ्नेछे

तिमी खुसी हुँदै— “बुढी, छिट्टो आइज त” भन्नेछौ ।

म फुक्दै गरेको पटुकी बाँधेर

घरेलु माया बोकेर भाग्दै तिमीतिर आउनेछु ।

हामी कालो पोथीका सेतो चल्ला गन्दै-गन्दै

अगेनामा बसालेको कुँडेको दूध उम्लनेछ ।

तिमी दूध राखेको चिया खान नपाएपछि मलाई दोष दिनेछौ

त्यसरी हतारमा बोलाएको निहुँ पारेर

फेरि म पनि मौन रिसमा रिसाउनेछु ।

दिनभरि नबोली-नबोली म खाना पस्किन्छु

तिमी आफैँ थाल सारेर खानेछौ ।

मैले अलिकति गुन्द्रुकको रस थपिदिन्छु

तिमी थाहा नपाएझैँ अकथ स्नेहले हेर्नेछौ ।

यसरी नै हाम्रो बुढेसकालको प्रेम प्रगाढ र अविचल बनिरहनेछ ।

उज्यालोभरि म घुर्किन्छु, तिमी फकाइरहन्छौ ।

हिजो बोली बाराबार, तिमी उता म यता फर्केर सुतेका हामी

बिहान उठ्दा म लजाएको हुनेछु, तिमी मुस्कानले भरिएको हुनेछौ ।

ए प्रियतम! आऊ न हामी यही जिन्दगी जिउनेछौँ

कसैले नगरेको निस्सीम प्रेम गर्नेछौँ ।

आधा जिन्दगी कता बरालियौँ, कता हरायौँ

जवानी कता पोखियो, कता खेर गयो

अब अन्तिममा हामी अन्तिम सहयात्री बनेर

एक-अर्काको काख सिरानी बनाएर मर्नेछौँ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.