साहित्यपोस्ट डट कम

कविता : जिन्दगानी

कविता : जिन्दगानी

वियोगान्त भुल्दै यशोगान गाऊ

टिपी पुष्प गुच्छा हियोमा सजाऊ

सधैँ शीत छर्नू बनी मूलपानी

तिमी धीरताको हुनू जिन्दगानी ।।१

म ठूलो हुँ भन्ने कतै लाग्छ लर्को

चिनेको छु मैले म आफ्नो र अर्को

पढी शब्द वाणी बनी स्वभिमानी

तिमी धीरताको हुनू जिन्दगानी ।।२

कतै तान्छ खुट्टा कतै हान्छ लात

छ यस्तै विकारी यहाँको जमात

सिकी पाठ सारा बनी सभ्य ज्ञानी

तिमी धीरताको हुनू जिन्दगानी ।।३

यहाँ घोष राख्ने गफाडीहरू छन्

तिरस्कार गर्ने मवालीहरू छन्

दया भावनाको बसाई निसानी

तिमी धीरताको हुनू जिन्दगानी ।।४

घुमाएर जाँतो लिई लाल झन्डा

नगर्नू कसैले यहाँ अंश बन्डा

असन्तुष्टले नै सधैँ गर्छ हानि

तिमी धीरताको हुनू जिन्दगानी ।।५

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.