साहित्यपोस्ट डट कम

कविता : जिम्मल्नी बज्यै

कविता : जिम्मल्नी बज्यै

फाट्यो कोट पुरानो त्यो समयको लाखा र पाखा सबै,

लाग्यो ओट पीडा अनेक तरहका लागेर आँखा सबै ।

जम्मै लोक–समाजमा जिम्मलको वा ! क्या थियो रज्गजै

नेटो काटिसके पनि समयले कल्पेकी कल्प्यै बज्यै ।

ब्वाँसो, चित्तल, बाघ, बाज, उपियाँ, ती फ्याउरा,

उडुस, मुसा सर्प अनि बिच्छी र खजुरा, जुम्रा, झिँगा, पिउसा ।

जम्मै आइ शरण परी हजुरमा बिन्ती बिसाउँदथे

मेरा जिम्मलका अगाडि त सबै थर्थर भै काँप्तथे ।

आउँथ्यो उपहार सधैँ चरणमा मुड्की र चुड्की थियो

धौ–धौ केही थिएन कत्ति घरमा हाँसो र फुर्ती थियो ।

नोकरचाकर ती थिए घरभरि आदेश खाँचो थियो

खर्चै गर्नुपरे कति सहज थ्यो यो हात साँचो थियो ।

ज्युनार भोजनको खुसी मन गरी ती प्रभुका साथमा,

गर्थे चुम्बन ती लुगा र गहना पट्याउँदै खातमा ।

टीका–गाजलले चिटिक्क सजिई बस्थेँ नि कुर्ची महाँ

हात्ती शिर झुकाई त्यो गजबले पर्थ्यो शरण गाथमा ।

जग्गा टन्न थियो मकै घरभरि खानपान साह्रै ठुलो

मस्ती मोज थियो सधैँ खुसी थियो फुल्थ्यो सधैँ ह्याकुलो ।

हिजोका सब ती कुरा मनभरि खेल्छन् अझै जोडले

निल्नै छैन सहज यसै समयमा रुँदै छ मन तोडले ।

जिम्मल स्वर्ग गए भुराभुरी पनि छाडेर निस्के उठी

बदल्यो शासन नि यसै मुलुकमा सुनसान बन्यो कुटी ।

बारी खेत बने मरुभूमिसरी क्यै छैन खनजोत पनि

सुको छैन कमाइ यो समयमा के तिर्नु मालपोत पनि ।

भूजा सम्झी पकापकी खुसी हुँदै च्याँख्ला यी पुकाउँदै

एक्लै आँसु चुहाउँदै अतीतको त्यो गल्छीमा अल्झिँदै ।

उस्तै सोच छ दिलमा अझै पनि सन्तान खै सम्पत्ति ?

यस्ती शान्त मिजासिली करुण छिन् यिनकै भयो दुर्गति ।

नाति–नातिनी छन् सबै सहरमा निल्दै छिन् उनी ढिँडो

भेटै गर्न पनि कसो गरी पुगूँ त्यति छ यो घिडघिडो ।

पारिपट्टि पहाडको पथभरि ओछ्याउँदै ती नजर

एक्लै पीपलझैँ नहल्चल गरी बित्दै छ हरेक प्रहर ।

साँची राख्न घुमाउने घर पनि हम्मे पर्यो लौ अब

धोती खुम्ची मुजा परे पटपटी फुट्दै छ त्यो मादल।

कौडा तास अझै पनि अमर छन् भैँसी मर्यो लाहुरी

काम्छन् हात बजै अझै रहरमा गाला परे चाउरी ।

जम्मै बाघसरी बने ती भुसुना क्वै छैन सोझो ढुकुर

जुध्छन् आइ यसै बिना कसुरमा भुक्दै ती गाउँका कुकुर ।

नेता फेरि मुसा चिची गरी–गरी झ्वाम्मै चढे पातमा

जुम्रा उडुसको गजब चचहुई ब्वाँसा लिँदै साथमा ।

आयो है गणतन्त्र यो मुलुकमा ल्याएर एक कानुन

दुर्गम स्थानभरि अभाव नुनको भित्रेर देशमा सुन ।

बक्रे स्वाँठ सबै ठुला पद पुगे झोले सबै सन्त ती

जनताको पशु ब्याउँदा हरिपले मज्जै दुहे ब्याउँती ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.