फाट्यो कोट पुरानो त्यो समयको लाखा र पाखा सबै,
लाग्यो ओट पीडा अनेक तरहका लागेर आँखा सबै ।
जम्मै लोक–समाजमा जिम्मलको वा ! क्या थियो रज्गजै
नेटो काटिसके पनि समयले कल्पेकी कल्प्यै बज्यै ।
ब्वाँसो, चित्तल, बाघ, बाज, उपियाँ, ती फ्याउरा,
उडुस, मुसा सर्प अनि बिच्छी र खजुरा, जुम्रा, झिँगा, पिउसा ।
जम्मै आइ शरण परी हजुरमा बिन्ती बिसाउँदथे
मेरा जिम्मलका अगाडि त सबै थर्थर भै काँप्तथे ।
आउँथ्यो उपहार सधैँ चरणमा मुड्की र चुड्की थियो
धौ–धौ केही थिएन कत्ति घरमा हाँसो र फुर्ती थियो ।
नोकरचाकर ती थिए घरभरि आदेश खाँचो थियो
खर्चै गर्नुपरे कति सहज थ्यो यो हात साँचो थियो ।
ज्युनार भोजनको खुसी मन गरी ती प्रभुका साथमा,
गर्थे चुम्बन ती लुगा र गहना पट्याउँदै खातमा ।
टीका–गाजलले चिटिक्क सजिई बस्थेँ नि कुर्ची महाँ
हात्ती शिर झुकाई त्यो गजबले पर्थ्यो शरण गाथमा ।
जग्गा टन्न थियो मकै घरभरि खानपान साह्रै ठुलो
मस्ती मोज थियो सधैँ खुसी थियो फुल्थ्यो सधैँ ह्याकुलो ।
हिजोका सब ती कुरा मनभरि खेल्छन् अझै जोडले
निल्नै छैन सहज यसै समयमा रुँदै छ मन तोडले ।
जिम्मल स्वर्ग गए भुराभुरी पनि छाडेर निस्के उठी
बदल्यो शासन नि यसै मुलुकमा सुनसान बन्यो कुटी ।
बारी खेत बने मरुभूमिसरी क्यै छैन खनजोत पनि
सुको छैन कमाइ यो समयमा के तिर्नु मालपोत पनि ।
भूजा सम्झी पकापकी खुसी हुँदै च्याँख्ला यी पुकाउँदै
एक्लै आँसु चुहाउँदै अतीतको त्यो गल्छीमा अल्झिँदै ।
उस्तै सोच छ दिलमा अझै पनि सन्तान खै सम्पत्ति ?
यस्ती शान्त मिजासिली करुण छिन् यिनकै भयो दुर्गति ।
नाति–नातिनी छन् सबै सहरमा निल्दै छिन् उनी ढिँडो
भेटै गर्न पनि कसो गरी पुगूँ त्यति छ यो घिडघिडो ।
पारिपट्टि पहाडको पथभरि ओछ्याउँदै ती नजर
एक्लै पीपलझैँ नहल्चल गरी बित्दै छ हरेक प्रहर ।
साँची राख्न घुमाउने घर पनि हम्मे पर्यो लौ अब
धोती खुम्ची मुजा परे पटपटी फुट्दै छ त्यो मादल।
कौडा तास अझै पनि अमर छन् भैँसी मर्यो लाहुरी
काम्छन् हात बजै अझै रहरमा गाला परे चाउरी ।
जम्मै बाघसरी बने ती भुसुना क्वै छैन सोझो ढुकुर
जुध्छन् आइ यसै बिना कसुरमा भुक्दै ती गाउँका कुकुर ।
नेता फेरि मुसा चिची गरी–गरी झ्वाम्मै चढे पातमा
जुम्रा उडुसको गजब चचहुई ब्वाँसा लिँदै साथमा ।
आयो है गणतन्त्र यो मुलुकमा ल्याएर एक कानुन
दुर्गम स्थानभरि अभाव नुनको भित्रेर देशमा सुन ।
बक्रे स्वाँठ सबै ठुला पद पुगे झोले सबै सन्त ती
जनताको पशु ब्याउँदा हरिपले मज्जै दुहे ब्याउँती ।

