कोठाको दाँयापट्टिको भित्तामा
झ्याल एउटा छ
जसले बिहानको किरण
दिवाको शिरशिरे हावा
र
साँझमा जूनको शीतल बोकेर आउँछ
जे ल्याउँछ त्यहीँ दिन्छ
गुनासो गर्न मिल्छ या मिल्दैन
सोध्ने फुर्सद पनि छैन
जवाफ ऊसँग होला र ?
सोच्ने फुर्सद पनि छैन
तर पनि
बिहान बेलुका
त्यहीँ झ्यालमा बसेर हेर्छु
प्रकृतिको नाङ्गो आकार
आकाशको यौवन शरीर
वायुको उत्तेजना र
बादलहरूको जवानी
कसैले प्रश्न गरेनन्
कसैले प्रवाह पनि गरेनन्
उनीहरूसँग न भाषा थियो
न नै संस्कार
न रिवाज थियो
न नै कानून
नबाँधीएरै होला
स्वतन्त्र भएका सिद्धार्थले
नियम छोडे र पछि
बुद्ध भए…..
यो झ्यालसँग उनीहरूको के साइनो होला ?
ऊ घरमा नटाँसिएको भए
उसले पनि केही गीत गुनगुनाउँथ्यो होला
केही कविता लेख्थ्यो होला
काव्यदेखि महाकाव्यसम्मको
यात्रा पार गर्थ्यो होला….
यसले बाहिर संसार मात्र हैन
मेरो संसार पनि देखेको छ
कुनामा बसिरहेका सपनाका लासहरू
कात्रोमा बेरिएका रहरहरू
कुहिएर पनि
पतन हुन नसकेका चाहनाका लहरहरू
सीरानीले लुकाएको मेरो आँसुहरू
मैले धोका दिएका कविताहरू
के भन्थ्यो होला ?
हावाको झोकले झ्याल आफै बन्द हुन खोज्यो
शायद उनीहरू बीच संवाद भयो होला
मेरा कुराले पोल्यो होला
कसले रुचाएन यो मनको कहल
मेरो घरको झ्यालले मलाई हेरिरहन्छ
आज पनि उनिहरूको संवादमा
मेरा गोप्यकुराहरू बगेका त थिएनन्
उसको हेराइमा लजाउन थालेँ
लजाउन थालेँ
पर्दाले छेकेर बस्छु
मैले आफैलाई हेर्न सकिन
कि आफैसँग डराउन थालेँ
यो कुरा गोप्य छ
झ्याललाई थाहा नहोस्….

