म टुकी हुँ अँध्यारो रातमा
त्यो झुपडीलाई उज्यालो छर्न बालिएको ।
टुकीको तापमा किन झुम्दै छन् सयौँ पुतलीहरू ?
जसलाई म राप र तापको आकर्षणले
बिस्तारै–बिस्तारै मोहित पारेर
उसैलाई ध्वस्त पारिदिन सक्छु ।
किन बुझ्दैनन् यी पुतलीहरू ?
मौन छु, तर तेल र बातीको सहाराले
म दुनियाँलाई खरानी पनि बनाउन सक्छु
यदि मलाई दुरुपयोग गरियो भने ।
ए! झुम्मिने पुतलीहरू, मलाई नश्राप्नु है ?
मेरो समीप परेर तिम्रा पखेटा जल्दा
कहिल्यै उड्न नसक्ने गरी भुइँमा बजारिँदा
पश्चात्तापमा नपर्नु अङ्गभङ्ग भएपछि ।
कि नजिकै नपर्नु मेरो, परे समस्या हुन सक्छ
थाहा छ होला नि केही पाउन केही गुमाउनु पर्छ ।
ए! पुतली, मलाई पाउन मुस्किल छ
महसुस गर्ने मात्र हो मलाई ।
तर, मलाई पाउने आशामा तिम्रो आयु छोट्टिने छ
सुन्दरताको रङ्ग हराउने छ
क्रूरताले राज गर्ने छ
फेरि कहिल्यै उड्न सक्ने छैनौ स्वतन्त्र भएर ।
सक्छौ भने दियोमा देखिने प्रकाशको लोभमा नपर
ए! पुतलीहरू मलाई झुपडीमै बल्न देऊ
झुम्मिन नआऊ
मलाई झुपडी उज्यालो पार्न देऊ ।

