साहित्यपोस्ट डट कम

कविता : झुपडीको टुकी

कविता : झुपडीको टुकी

म टुकी हुँ अँध्यारो रातमा

त्यो झुपडीलाई उज्यालो छर्न बालिएको ।

टुकीको तापमा किन झुम्दै छन् सयौँ पुतलीहरू ?

जसलाई म राप र तापको आकर्षणले

बिस्तारै–बिस्तारै मोहित पारेर

उसैलाई ध्वस्त पारिदिन सक्छु ।

किन बुझ्दैनन् यी पुतलीहरू ?

मौन छु, तर तेल र बातीको सहाराले

म दुनियाँलाई खरानी पनि बनाउन सक्छु

यदि मलाई दुरुपयोग गरियो भने ।

ए! झुम्मिने पुतलीहरू, मलाई नश्राप्नु है ?

मेरो समीप परेर तिम्रा पखेटा जल्दा

कहिल्यै उड्न नसक्ने गरी भुइँमा बजारिँदा

पश्चात्तापमा नपर्नु अङ्गभङ्ग भएपछि ।

कि नजिकै नपर्नु मेरो, परे समस्या हुन सक्छ

थाहा छ होला नि केही पाउन केही गुमाउनु पर्छ ।

ए! पुतली, मलाई पाउन मुस्किल छ

महसुस गर्ने मात्र हो मलाई ।

तर, मलाई पाउने आशामा तिम्रो आयु छोट्टिने छ

सुन्दरताको रङ्ग हराउने छ

क्रूरताले राज गर्ने छ

फेरि कहिल्यै उड्न सक्ने छैनौ स्वतन्त्र भएर ।

सक्छौ भने दियोमा देखिने प्रकाशको लोभमा नपर

ए! पुतलीहरू मलाई झुपडीमै बल्न देऊ

झुम्मिन नआऊ

मलाई झुपडी उज्यालो पार्न देऊ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.