जन्मेर रोइरहेको टुहुरो नवजात बालकजस्तो
टालटुल पारेका भित्ता र छानाहरू
रोइरहन्छन् एकोहोरो ।
रातभरि पानी चुएर चिस्सै भएछ
बिरामी आमाको
बिछ्यौना ।
अहो !
कस्तो अनर्थ भएछ
बुद्धजस्तो त्यस मुसालाई
पल्लो घरको काली बिरालोले मारिदिएछ ।
अस्तिदेखि त्यसले कुटुकुटु गर्दै खाँदै थियो
मेरो शैक्षिक प्रमाणपत्रहरू ।
हो हजुर ! अव्यवस्थाले
जून र तारा देख्ने
छाना कुनै पनि समय फाट्न सक्छ ।
मकिएका खाँबा र भित्ताहरू
कुनै बेला गर्लामगुर्लुम ढल्न सक्छन्।
चालै नपाई पश्चिमको हावाले
मन र मस्तिष्कलाई समात्न सक्छ
दक्षिणको हावाले बेसरी
फुक्न सक्छ
र
पूर्वोत्तरको हावा आफैँ रोगग्रस्त हुन सक्छ ।
कहिले आगो र पानीमा त कहिले गोलाबारुदमा
डेराभित्रको मन कुनै पनि समय थाहा नपाई
भित्रभित्र सुटुक्क पड्कन सक्छ ।
त्यतिबेला रातहरू रात नभएर त्रास बन्न सक्छन्
दिनहरू दिन नभएर भ्रम बन्न सक्छन्
बाटाहरू बाटा नभएर खाँडल हुन सक्छन्
र
आफैँमा पहिचानका काँडाहरू बनेर
समयलाई असमय बेसरी
घोचिरहन सक्छन् ।
बाह्य र अन्तर्जगत्मा डुलिहिँड्ने मन
ढल्न आँटेका भित्ताहरू भएर
आविष्कारको प्रयोगशाला बनेर
कर्ल्याङकुर्लुङ रेखाहरू
सूत्र भई योद्धाहरू
तिमीले सुनेका, जानेका र भोगेकाभन्दा
भिन्नै जन्माउने जमर्को गरिरहेका छन् ।
तर म वैज्ञानिक हुँदै होइनँ ।
पोहोर साल अस्पताल लान नपाएर
मरेकी पल्लो गाउँकी साइँली दिदीको
घर पनि मकिएर ढल्नै आँटेको छ ।
त्यहाँ पनि भित्ताहरू अस्मिताका प्रयोगशाला
र सूत्रहरू बनिसके होलान् ।
हो हजुर ! तपाईँले सही भन्नुभयो
म त यही गाउँको सिधासाधा श्रमिकको छोरो हुँ ।
सानैदेखि म यस गाउँको, यही पहाडको
भिरपाखा, जङ्गल, चियाबगान, झरना र खोलानाला
गर्दै हुर्किएको पहाडी भुइँमान्छे हुँ ।
उत्तर-औपनिवेशिक युगमा
मैले केही सुनेको छैन, देखेको पनि छैन।
मैले त
भोक र तिर्खाले अललिएको टुहुरो बालक देखेको छु।
दाउरा काट्न जाँदा भिरबाट खसेर मरेकी फूलमाया काकीलाई देखेको छु ।
पहिरोले थिचेको, सर्पले डसेको काइँली फुपू
र अन्तरे काकाहरूलाई देखेको छु ।
ढल्न आँटेका भित्ता र खाँबाहरूमा
लाखौँ रेखाकृत अनुहारहरू देखेको छु ।
समानता र अधिकारका अक्षरहरू पढेको छु ।
भित्रभित्र अध्ययन गरेर ढल्न आँटेको झोपडीभित्र
चुपचाप मानव प्रयोगशाला नै बन्न लागिरहेको छु ।

