तिमीहरूले हामीलाई “झोले” भन्यौ
हामी मुस्कुरायौँ ।
किनकि हामीले झोलाभित्र
के बोकेका छौँ भन्ने
हामीलाई थाहा छ।
यो झोला खाली नाराको होइन
यो झोला हो— इतिहासको
सङ्घर्षको पनि, बलिदानको पनि
र, गल्तीको पनि ।
तिमीहरूले भन्यौ
हामी व्यक्तिपूजक हौँ
हनुमान हौँ, अन्धभक्त हौँ ।
तर याद गर
रोम एकै दिनमा बनेको होइन
तथापि हिरोसिमा र नागासाकी
क्षणभरमै समाप्त भएका हुन् ।
यी पुराना भनिएका दल पनि
एकै दिनमा बनेका होइनन् ।
यो भूमिमा
समाजवादको वकालत गर्नेले
लोकतन्त्रका लागि जेल भोगेको छ
जनताको बहुदलीय जनवाद खोज्नेले
भूमिगत वर्षहरू काटेको छ
गणतन्त्र र पहिचान माग्नेले
आफ्नै तरिकाले परिवर्तनको
अध्याय लेखेको छ ।
हामी ती सबै निर्णयका समर्थक
नहुन सक्छौँ
तर ती अध्यायहरू
मेटेर नयाँ पुस्तक लेख्न सकिँदैन ।
तिमीहरूले सर्वेसर्वा मानेको ‘नयाँ’ लाई
हामीले आशा देख्यौँ
तर अनुभवले सिकाएको छ
नयाँ हुनु नै शुद्ध हुनु होइन ।
आजको नायक
भोलिको आलोचनाको पात्र पनि हुन सक्छ ।
हामी अन्ध हौइनौँ
हामीले आफ्ना नेतृत्वको कमजोरी
पनि देखेका छौँ ।
तर सुधार भित्रबाट पनि सम्भव हुन्छ
भन्ने विश्वास गर्छौँ ।
तिमीहरू प्रश्न हौ, र प्रश्न आवश्यक छ ।
तर प्रश्नले यदि
सबै अतीतलाई खरानी बनायो भने
भोलिको आधार कसरी उभिन्छ ?
हामी झोले हौँ भने
त्यो झोला हामीले
आस्था, अनुभव र उत्तरदायित्वले भरेका छौँ।
हामी बदलिन तयार छौँ
तर मेटिन होइन ।
प्रिय ‘जेनजी’ (Gen Z),
तिमीहरूको ऊर्जा स्वागतयोग्य छ
तर ऊर्जा मात्रले राज्य चल्दैन
नीति, संयम र निरन्तरता पनि चाहिन्छ ।
हामी तिमीहरूको शत्रु होइनौँ
तसर्थ सम्झना रहोस्
हरेक नयाँ सुरुवात
कुनै न कुनै पुरानो पाइलामाथि उभिएको हुन्छ ।

