झारले ढाकेको मझेरी
तुलसीको मियोमा उम्रेको छ
संशयको उन्यू
दलिनमा झुन्डिएको छ एउटा उदास र रित्तो नाम्लो ।
जहाँ कहिल्यै जीवनको
सुगन्धित बाफ उठ्दैन
त्यो चिसो चुल्होमा अचेल
मृत्युजस्तै मौन बस्छ
तातो पानीको रित्तो केतली ।
गाउँको जीर्ण मझेरी अचेल बनमाराले अतिक्रमण गरिरहेको छ
ठीक त्यसरी नै जसरी
नव-बजारीकरणको मोहजालले
यान्त्रिक चिलको लामो
उडानमा लुटेर लगे
यो घरको कोलाहल, हाँसो र नव-पुस्ताको
तोतेबोली ।
कौशल्या र दशरथजस्तै दुई वृद्धहरू
आँखामा मोतिविन्दु र मुटुमा
विलोपन बोकेर
आफ्नै मियो वरिपरि घुमिरहेछन् ।
जब खोकीको कम्पनले थर्किन्छ
सुनसान आँगन
तब भित्ताको घडीले टिकटिक
गर्दै गिज्याउँछ र सोध्छ
"यो शून्यताको
क्षतिपूर्ति कुन विप्रेषणले तिर्छ ?"
छोरा पराई मुलुकको
गगनचुम्बी महलभित्र
सभ्यताको नयाँ परिभाषा
लेख्दै छ
बुहारी उत्तर-आधुनिक बजारमा
हराएकी छिन्
र नातिनातिनाले आफ्नै बाजे
बजैको भाषालाई 'अनुवादित मुस्कान' ठान्छन्
ती सबै अचेल स्क्रिनको
संकुचित उज्यालोमा 'कृत्रिम' आँसु खसाल्छन् ।
घाँटी खसखसाउँदा एक घुट्को उष्ण जल दिने कोही हुन्न
औषधिको बट्टा खोल्ने
कम्पायमान औँलाहरू
र धमिराले खाएको पुरानो
सन्दुकको क्रन्दन
यो युगको सबैभन्दा क्रूर
महाकाव्य हो ।
झारले ढाकेको यो मझेरी केवल एउटा घरको कथा होइन
यो त रित्तिँदै गरेको देशको
हुलाक टिकट हो
जसमा नियतिको छाप लागेको छ
र गन्तव्यहीन रैथाने
चराहरूको तस्बिर अङ्कित छ ।

