यो तपोभूमिमा जल्नुपर्थ्यो
विभेद, अन्याय र अत्याचारका दस्ताबेजहरू
तर निहत्था जलिरहेछन् युगौँदेखि अबला नारीहरू।
यो शान्तिभूमिमा बल्नुपर्थ्यो
ज्ञानका ज्योतिहरू, मानवताका चम्किला सूर्यकिरणहरू
तर जलिरहेछन् कर्तव्यशील टुहुरा नारीहरू ।
यो ऋषिमुनिको आश्रमदेखि
हिमालयको पवित्र स्थलमा
यज्ञभित्र घन्कनुपर्थ्यो
तपस्या गर्ने कोटिहोमका आवाजहरू
तर हरसाँझ र बिहान बल्ने चुलोभित्र गुम्सिएर
निसास्सिएर विस्फोट भइरहेछन्
कतिपय स्थानमा निर्बल सज्जन नारीका क्रन्दनहरू।
जो नारी भएबापत ‘टुहुरो’ बनाइए,
आफ्नै आँगनबाट आफू
जीवित हुँदै बेचिन विवश भए,
पीडामा पनि नफर्किन ढोलक बजायो समाजले।
विषतत्व फणा फिँजाएर आयो—
पुरुषप्रधानताको खोलभित्र
विषाक्त अर्का नारी–पात्रहरू उभिए
सतीप्रथालाई निरन्तरता दिन
अग्रज बनेर हिंसाका स्वरूप फेरिए
संस्कार भनेर कैदका रूप फेरिए ।
बाठा र सक्नेहरू सीमा नाघेर
समाजको ढोलक नदेखेझैँ गरी चियाउँदै छन्
कर्तव्यपरायण निरीहहरू आफ्नै चुलोमा
‘कि त आज कि त भोलि’ मा बाँचिरहेछन् ।
हरपल गुम्सिएको चिसो दाउराको बाफसित मिसिएर
अत्तालिँदै दिन काटिरहेछन् ।
अन्धो समाज, ‘सबै तिम्रो हो, खपेर
सहेर आफ्नो बनाऊ’ भन्छ
क्रूर मानवहरू ‘यो सबै मेरो हो
तेरो कहाँ छ?’ भन्छन् ।
आफ्ना रगतका साइनोहरू बिदा गरेर दियौँ
‘उतै खुसी पारेर बस’ भन्छन्
पराई क्रूरहरू जीवनको बलिदान माग्दै छन् ।
जलिसकेका सतीहरूको क्रन्दन छोप्न
ढोलक बजाइएका थिए रे
आज जल्न बाँकी सतीहरूका क्रन्दन छोप्न
धेरैजसो ठाउँमा पञ्चेबाजा बजाइन्छन् ।
न कतै दाग देखिन्छ, न कतै खोट देखिन्छ
संस्कारको घुम्टो छोप्न केवल नोट देखिन्छ !
नोट नहुनेको छोरीलाई आज पनि जिउँदै जलाइन्छ
कर्तव्य र संस्कारको पासो थापी हरबखत
‘सहनु’ भनी नरक भोगाइन्छ ।
नोट हुनेलाई कि त विदेश भगाइन्छ
कि त सँगै राखेर पनि रानीझैँ पुजिन्छ।
माइतीले टन्न नोट नदिने छोरीलाई जिउँदै नरक देखाइन्छ
हरबखत नोकरानीको दर्जामा राखिन्छ ।
असभ्यताको पाठ पढाई नाइकेहरू नाच्छन्
चुलोभरि, अबला नारीको आँसुले सकिँदैन निभाउन
विभेदको राँको, जो दन्किन्छ आगोसरी ।
ओकल्दछन् राप अग्रज स्त्रीहरू
संस्कार र सभ्यताको नाममा
अशिक्षित झन् बुझेकै छैन
त्यसैले ‘तँलाई झोसेँ आगोमा !’
आफन्तले ढोलक बजाए,
सँधियारले गीत, पतिदेवको ओठ बन्द छ।
चुलोभित्रकी अर्की महिलाको घमण्डको ज्वाला दन्कियो
अबला नारीको हजारौँ पीडा मनभित्रै थन्कियो ।
त्यसैले, जलिसकेका नारी आए
श्रद्धाञ्जलीका तस्बिर बनेर
जल्न बाँकी नारीहरू कैद भएका छन्
आफ्नै चुलोनेर !

