साहित्यपोस्ट डट कम

कविता : जलेका स्वप्नहरूको कार्निभल

कविता : जलेका स्वप्नहरूको कार्निभल

अगादिरको आकाश आज ब्लुटुथले जोडिएको छ

ड्रोन, दमन र डलरको सिग्नलमा ।

यहाँ बादल होइनन्, राजकीय प्रेस विज्ञप्ति तैरिरहेका छन्

जहाँ “शान्ति” शब्द हरेक गोलीपछि ‘अपडेट’ हुन्छ ।

गल्लीहरूमा धुवाँ मात्र होइन,

राज्यको बासी नैतिकता पोलिरहेको छ ।

हावामा मिसिएको छ

टियर ग्यास र टिकटकको फिल्टरले सुन्दर बनाइएको रगतको रङ !

इन्स्टाग्राममा क्रान्ति ‘स्टोरी’ हुन्छ

चौबीस घण्टे घाउहरू जीवनभरका ।

डिस्कोर्डमा युवाहरू बोल्छन्

संसद् बहिरो छ ।

ट्विटरमा ह्यासट्याग कराउँछ

अदालत निदाएको छ ।

फेसबुक एउटा स्मृतिस्थल

जहाँ हिजोका सपनाहरूलाई आज एल्गोरिदमले गाड्छ ।

ल्क्लियाको रात

कर्फ्युको कालो पोस्टर

जहाँ ताराहरूलाई गोलीले ‘सेन्सर’ गरिसक्यो ।

दुई शरीर ढले, राज्यले भन्यो संयोग !

इतिहासले लेख्यो सङ्केत !

उनीहरूको नाम शिलालेख होइन

घाउ बनेर जनताको चेतनामा बस्यो

एकको नाम ‘सुधार’, अर्कोको ‘स्वाभिमान’ ।

राज्यलाई दुवै एलर्जी छन् ।

जेन–जी ! तिमीहरूलाई आलसी भन्नेहरूले जानून्

तिमीहरू त समयको ‘ईसीजी’ हौ ।

जब समाज मरेको देखिन्छ

तिमीहरूको नाडीले भविष्य धड्काउँछ ।

शिक्षा बजेटमा हराएको कविता हो,

स्वास्थ्य निजीकरणको ‘आईसीयू’ मा भेन्टिलेटर खोज्दै छ ।

तर तिमीहरूको रगतले यी दुवैलाई फेरि पाठ्यक्रममा फर्काउँदै छ ।

यो विद्रोह सडकमा मात्र छैन

यो त च्यातिएको नोटबुकको ‘हाशिया’ मा छ

नर्सको थकित आँखामा छ

र त्यो बालकको पेटमा छ

जहाँ संविधानभन्दा भोक ठूलो छ ।

पुलिसका गोलीहरूले माटो फोडे

तर विचारहरू कुनै बुलेटप्रुफ होइनन्

बरु त गोली नै मल बनेर चेतनाको बाली उमार्दै छ ।

ओज्दा, इनेजगाने, तिज्नित !

तिमीहरू सहर होइनौ

तिमीहरू ‘फुटनोट’ हौ

राज्यको असफलतामा ।

गल्लीहरूमा जलेका गाडीहरू ?

अहँ, त्यो त सत्ताको जलेको विवेकको ‘क्रेमेसन’ हो ।

पक्राउ परेकाहरू अपराधी होइनन्

उनीहरू त त्यो मौन भीडका अनुवादक हुन्

जो बोल्न जान्दैन, तर सहन अस्वीकार गर्छ ।

अजिज अखन्नोउचको राजमहलमा

अब कम्पन पुगेको छ, भूकम्प होइन

भोकको कम्पन !

जहाँ पहिले आदेश गुञ्जिन्थ्यो

अब त्यहाँ सडकको व्याकरण पढिँदै छ ।

क्रान्ति आगो होइन

आगो त राज्यसँग पनि छ ।

क्रान्ति त त्यो ज्वाला हो

जसले पाठ्यपुस्तकमा जीवन लेख्छ

र अस्पतालमा आशा सिउँदछ ।

यो युवाको आन्दोलन होइन

यो त मानवताको ‘रिबुट’ हो ।

जब तिमीहरूले “सुधार !”

भन्दै हात उठायौ

आकाशले स्क्यान गर्‍यो ।

साझा गर्नुहोस्:
तोमनाथ उप्रेती

लेखकको बारेमा

तोमनाथ उप्रेती

सयौं फुटकर रचना रच्नु भएका तोमनाथ उप्रेतीका आधा दर्जनभन्दा बढी लघुउपन्यास प्रकाशोन्मुख छन् । उहाँ नेपाल सरकारका उपसचिवसमेत हुनुहुन्छ । उहाँको एक लघुउपन्यास साहित्यपोस्टबाट प्रकाशित हुँदैछ ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.