जहाँ कविसँग शब्द सकिन्छ
जहाँ रविसँग किरण सकिन्छ
त्यसभन्दा अन्धकार
कल्पनाभन्दा पर फैलिन्छ ।
जब वाहवाही
उखानको हुन्छ
विषवृक्ष उमार्ने
उद्यानको हुन्छ
जब बुद्धि अधोगतिमा डुब्छ
त्यहीँ संघर्ष
पहिचानको हुन्छ
अभिमानको हुन्छ
र बुर्कुसीमा अहंहरू
हानाहानको हुन्छ ।
र हुनु पर्ने महान
नादान बन्छ
हुनु पर्ने कप्तान
जवान मात्रै बन्छ ।
विष—जघन्य कुरा
पकवान बन्न पुग्छ
झुण्डको गलत भाष्य
आह्वान बन्न पुग्छ ।
ज्ञानको परम अमृत
अपमानमा बदलिन्छ ।
अनि
कपाल सक्केकाहरू
काइयो बेच्न थाल्छन्
सक्कल बिग्रेकाहरू
सुन्दरताको व्यापार गर्छन् ।
नियत सडेका मानिसहरूले
नीति बनाउँछन्
नियम मिच्नेहरू
न्यायाधीश बनाइन्छन् ।
दसलाई बीस
बीसलाई चालिस बनाइन्छ
त्यो बेला शब्दको अर्थ
अनर्थमा बखान गरिन्छ
त्यो बेला व्यर्थको अर्थ
गुणगान गरिन्छ ।
जब कविसँग शब्दको अभाव हुन्छ
जब कविसँग प्रारब्धको अभाव हुन्छ
त्यतिबेला
कविलाई अंशमा अल्झाइन्छ
कविलाई लाभांशमा व्यस्त बनाइन्छ ।

