साहित्यपोस्ट डट कम

कविता : जब रिसको घडा फुट्छ

कविता : जब रिसको घडा फुट्छ

खपिनसक्नु भएर

उनको रिसको घडा

पट्ट जब फुट्छ

अनुहारमा तातेको फलाम बस्छ

अकस्मात् घरमा उत्पात पस्छ।

घरभित्र, शान्ति र कान्ति दुवै आत्तिन्छन् र

जताततैबाट निस्किएर छिमेकीका

कान–कानमा टेक्दै गाउँतिर भाग्छन् ।

नानी–बाबुको सातो खलबलिन्छ र

मेरो काखमा लुक्न लाग्छन् ।

घरायसी कामहरू बोकेर छकछक छकछक

चलिरहने रेलगाडीहरू पनि उछिट्टिएर लिकबाट पर पुग्छन्।

कामहरू छरपस्ट हुन्छन्

तिनीहरूलाई बुढी आमाले बटुलेर शरण दिनुपर्छ।

थाल कचौराको खेलाबैला मच्चिन्छ

कुचो र खरेटा पक्षाघातले दुख्छन्

फोहोर र कसिङ्गर कान थुनेर सुत्छन् ।

माउहरूको फाँचो गानिन्छ

बाछापाडाको लेग्रो तानिन्छ

गग्रेटोका गाग्रीहरूमा तिर्खा भरिन्छ ।

अगेनु शोकमा डुब्छ

आगो डराएर खरानीमा लुक्छ ।

दैलाको ओठमा लिपिस्टिक लाग्दैन

जाँतो घुम्दैन, ढिकी उठ्दैन

पँधेरोबाट पानी आउँदैन ।

पँधेरो जाने बाटो पनि शीतले

उनका पाउ पुछ्न नपाएर निस्ताउँछ

सबैको मनमा अत्यास उम्लन्छ

तर, बिरालो ? निद्रा नबिगारी चुलामै सुतिरहन्छ ।

बिस्तारै–बिस्तारै जब रिसको विष उत्रँदै जान्छ

घरमा उम्लिएको अत्यासको सास मर्न थाल्छ ।

जति–जति अत्यासको सास मर्दै जान्छ

उति उति शान्तिको अमृत पलाउँदै जान्छ ।

फुटेको घडा फेरि शान्तिको अमृतले जोडिँदै जान्छ

सबै कुरा सामान्यतिर फर्कन लाग्छन् ।

अनुहारहरूमा निभेका बत्ती फेरि जाग्न थाल्छन्

अपराह्नसम्ममा त लिकबाट उछिट्टिएका गाडीहरू पनि

लिकमै फर्किएर छुकछुक छुकछुक छुक्छुकाउन थाल्छन् ।

कहिलेकाहीँ यस्तो भइरहन्छ र

भइरहनु पनि पर्छ

अनि त जीवनको लयले

आफूमा नवीनता ल्याउन पाउँछ

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.