खपिनसक्नु भएर
उनको रिसको घडा
पट्ट जब फुट्छ
अनुहारमा तातेको फलाम बस्छ
अकस्मात् घरमा उत्पात पस्छ।
घरभित्र, शान्ति र कान्ति दुवै आत्तिन्छन् र
जताततैबाट निस्किएर छिमेकीका
कान–कानमा टेक्दै गाउँतिर भाग्छन् ।
नानी–बाबुको सातो खलबलिन्छ र
मेरो काखमा लुक्न लाग्छन् ।
घरायसी कामहरू बोकेर छकछक छकछक
चलिरहने रेलगाडीहरू पनि उछिट्टिएर लिकबाट पर पुग्छन्।
कामहरू छरपस्ट हुन्छन्
तिनीहरूलाई बुढी आमाले बटुलेर शरण दिनुपर्छ।
थाल कचौराको खेलाबैला मच्चिन्छ
कुचो र खरेटा पक्षाघातले दुख्छन्
फोहोर र कसिङ्गर कान थुनेर सुत्छन् ।
माउहरूको फाँचो गानिन्छ
बाछापाडाको लेग्रो तानिन्छ
गग्रेटोका गाग्रीहरूमा तिर्खा भरिन्छ ।
अगेनु शोकमा डुब्छ
आगो डराएर खरानीमा लुक्छ ।
दैलाको ओठमा लिपिस्टिक लाग्दैन
जाँतो घुम्दैन, ढिकी उठ्दैन
पँधेरोबाट पानी आउँदैन ।
पँधेरो जाने बाटो पनि शीतले
उनका पाउ पुछ्न नपाएर निस्ताउँछ
सबैको मनमा अत्यास उम्लन्छ
तर, बिरालो ? निद्रा नबिगारी चुलामै सुतिरहन्छ ।
बिस्तारै–बिस्तारै जब रिसको विष उत्रँदै जान्छ
घरमा उम्लिएको अत्यासको सास मर्न थाल्छ ।
जति–जति अत्यासको सास मर्दै जान्छ
उति उति शान्तिको अमृत पलाउँदै जान्छ ।
फुटेको घडा फेरि शान्तिको अमृतले जोडिँदै जान्छ
सबै कुरा सामान्यतिर फर्कन लाग्छन् ।
अनुहारहरूमा निभेका बत्ती फेरि जाग्न थाल्छन्
अपराह्नसम्ममा त लिकबाट उछिट्टिएका गाडीहरू पनि
लिकमै फर्किएर छुकछुक छुकछुक छुक्छुकाउन थाल्छन् ।
कहिलेकाहीँ यस्तो भइरहन्छ र
भइरहनु पनि पर्छ
अनि त जीवनको लयले
आफूमा नवीनता ल्याउन पाउँछ

