साहित्यपोस्ट डट कम

कविता : जब अभिमान चुलिन्छ

कविता : जब अभिमान चुलिन्छ

जब अभिमान चुलिन्छ
संसारबाट डाइनोसर हराएझैँ
विवेक हराएर जान्छ
व्यक्तिले आफूलाई
सिकन्दर ठान्छ
रचेर आतङ्क
सन्त्रासको भयाक्रान्त संसारमा
सबैलाई घचेड्छ

जब अभिमान चुलिन्छ
व्यक्ति हिटलर बन्छ र
विमतिलाई 'ग्यास च्याम्बर'मा थुन्छ
मुसोलिनी बन्छ र
'ब्ल्याक सर्ट' गठन गरेर
फरक मतावलम्बीको सातो काढ्छ
दुर्योधन बन्छ र सत्ताको दर्पमा
आफ्नै वंश विनाश गर्न
'कुरुक्षेत्र' रच्छ
सपरमुरात नियाजोभ बन्छ र
देशवासीलाई
आफूलाई 'भगवान्' मान्न कर गर्छ

जब अभिमान चुलिँदै जान्छ
तैमुरलङ्ग बन्छ, हरेक व्यक्ति
गगनचुम्बी आलिसान महलको
विराजमान भएर, नरम सिंहासनमा
मानवता खेलेको सुन्दर बस्ती
आदेश दिन्छ, ध्वंस गर्न
बनेर 'हर्ट अफ डार्कनेस'को 'कर्ट्ज'
मख्ख हुन्छ
छटपटाएको देखेर, पीडाले अबोध बालबालिकाहरू

जब अभिमान चुलिन्छ
मान्छे आफूलाई सगरमाथा सम्झन्छ
अरूलाई केचनाकवल

जब अभिमान चुलिन्छ
करुणा मर्छ
हार्दिकता सुक्छ र
मानवता सिद्धिन्छ
तब रुच्दैन, विनाशबाहेक केही पनि

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.