साहित्यपोस्ट डट कम

कविता : ईश्वर बनेका ढुङ्गा र ढुङ्गा बनेका मान्छेहरू

कविता : ईश्वर बनेका ढुङ्गा र ढुङ्गा बनेका मान्छेहरू

ईश्वर बनेका ढुङ्गा

र, ढुङ्गा बनेका मान्छेहरू

त्यो ईश्वर, जुन ईश्वरले कहिल्यै मलाई मान्छे देखेन

त्यो ईश्वर, जुन ईश्वरलाई मैले कहिल्यै ईश्वर देखिन

मेरो आस्था हेरेर मलाई आश गर्ने ईश्वर

मेरो अवस्था देखेर मलाई बेवास्ता गर्ने ईश्वर

अकर्मण्य भएर गुमनाम बसेको छ

असमञ्जसमा परेर एकान्तबास गरेको छ

त्यो कहिल्यै मेरो ईश्वर बनेन

मलाई कहिल्यै उसले मान्छे गनेन

त्यो ढुङ्गा जुन ढुङ्गाले मलाई कहिल्यै आफ्नो देखेन

त्यो ढुङ्गा जुन ढुङ्गामा कहिल्यै मैले आत्मा भेटिन

आज गजधम्म भएर देउरालीमा बसेको छ

आज अलमस्त भएर मन्दिरभित्र सजिएको छ

रङ्गिएर अबिर केशरीले

छोपिएर दुबो र पातीले

वर्षौंदेखि कसैको विश्वास बन्धकी राखेर

कसैको आस्था बन्धकी राखेर

देउरालीको ढुङ्गो

मन्दिरभित्रको ढुङ्गो

ईश्वर बनेर बसेको छ

वर्षौंदेखि ईश्वर बनेर सुतेको छ

यसैगरी सबै ढुङ्गाहरू ईश्वर बनिरहेछन्

र, मान्छेहरू ढुङ्गा बनिरहेछन्

आज ईश्वर बनेका ढुङ्गाहरू

हिजोसम्म मान्छे नै त थिए ।

र, आज ढुङ्गा बनेका मान्छेहरू

भोलि ईश्वर बन्नेछन् ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.