त्यो बिहान
आकाशले आँखा बन्द गरेको थियो
त्रसित घाम बादलको कम्बल ओढेर
थरथर काँपिरहेको थियो
सुर्खेतको निर्जन जङ्गलभित्र त्यस बेला
एउटा अभागी ‘समय’ गुहार माग्दै
रक्ताम्मे छटपटाइरहेको थियो।
इनिशा !
मानवताको चोटिलो दाग बनेर
तिम्रो नाम आज
यो देशको इतिहासमा
रातो अक्षरले कोरिएको छ ।
ए देश !
कहिलेसम्म हिँड्नुपर्ने
तिम्रा छोरीहरूले डराउँदै
उनीहरूकै माटो र बाटोमा ?
ए सरकार !
अझ कति ‘इनिशाहरू’ सकिनुपर्ने हो
तिमी ब्युँझनलाई ?
ए समाज !
तिम्रो मौनताले
कति ‘इनिशा र निर्मलाहरू’ बर्बाद भए
कहिल्यै हिसाब गरेको छौ ?
छोरी !
तिम्रो रगतले फेरि
हामीलाई ऐना देखाइदिएको छ
यो देशको मुहारमा
कति काला दागहरू छन् ।
अब पनि
घर–घरको धुरीबाट बारुद उडेर
सडकमा विस्फोट हुन सक्दैन भने
थाहा छैन
अझै कति ‘इनिशाहरू’
निर्जन झाडी र जङ्गलहरूमा
बेखबर च्यातिँदै जानेछन् ।

