साहित्यपोस्ट-नपढी सुखै छैन...

कविता : इनिशाको रगतले लेखेको प्रश्न

कविता : इनिशाको रगतले लेखेको प्रश्न

त्यो बिहान

आकाशले आँखा बन्द गरेको थियो

त्रसित घाम बादलको कम्बल ओढेर

थरथर काँपिरहेको थियो

सुर्खेतको निर्जन जङ्गलभित्र त्यस बेला

एउटा अभागी ‘समय’ गुहार माग्दै

रक्ताम्मे छटपटाइरहेको थियो।

इनिशा !

मानवताको चोटिलो दाग बनेर

तिम्रो नाम आज

यो देशको इतिहासमा

रातो अक्षरले कोरिएको छ ।

ए देश !

कहिलेसम्म हिँड्नुपर्ने

तिम्रा छोरीहरूले डराउँदै

उनीहरूकै माटो र बाटोमा ?

ए सरकार !

अझ कति ‘इनिशाहरू’ सकिनुपर्ने हो

तिमी ब्युँझनलाई ?

ए समाज !

तिम्रो मौनताले

कति ‘इनिशा र निर्मलाहरू’ बर्बाद भए

कहिल्यै हिसाब गरेको छौ ?

छोरी !

तिम्रो रगतले फेरि

हामीलाई ऐना देखाइदिएको छ

यो देशको मुहारमा

कति काला दागहरू छन् ।

अब पनि

घर–घरको धुरीबाट बारुद उडेर

सडकमा विस्फोट हुन सक्दैन भने

थाहा छैन

अझै कति ‘इनिशाहरू’

निर्जन झाडी र जङ्गलहरूमा

बेखबर च्यातिँदै जानेछन् ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.