हराएको धेरै वर्षपछि
प्रेम र आस्थाको सन्तान
यो वसन्तमा फर्कँदै छ रे !
गाउँबस्तीमा अहिले
यस्तै हल्ला चलेको छ ।
उहिले–उहिले जस्तो
झुटो नहोस् भनेर
शुभकामनाका भरी घडाहरू
ढोका–ढोकामा सजाइएका छन्
स्वागतका रङ्गीचङ्गी तोरणहरू
बाटैभरि तानिएका छन् ।
मुर्झाएका आशाहरू
अलिकति मुन्टो उठाएर
क्षितिजमा अड्किएका रहरहरू तान्न थालेका छन् ।
कुँजिएर बसेका बेखुसीहरूलाई
बिस्तारै कोसिस गरे
हृदय फर्काउन सकिन्छ कि जस्तो लाग्न थालेको छ ।
मौसमी रङहरूमा
विपनाका पत्ताहरू झरेका छन्
सपनाका मुनाहरू पलाएका छन्
युगान्तरको झल्को लागिरहेको छ रे
फूलको महक चोरेर कुद्ने हावालाई ।
प्रिय इमान !
अपलक छन् लाखौँ–करोडौँ नयनहरू
आगे मर्जी तिम्रो ।

