पूर्व क्षितिज बिस्तारै फाट्दै जाँदा
सूर्यले आँखा खोल्ने पहिलो थलो इलाम।
श्रीअन्तुको निधार छोएर न्यानो उज्यालो तल झर्दा
चियाबारीले हरियो कम्बल तान्छ
ओसिलो माटोको गन्धसँगै
धरती नबोली हल्का मुस्कुराउँछ ।
कन्यामका डाँडामा चिया र शीत मिसिएको
हावा सरसर बग्छ
हरिया पातका टुप्पामा अडिएका शीतका थोपाहरू
झर्ने कि बसिरहने दोधारमा
समयजस्तै काँपिरहेका देखिन्छन् ।
श्रीअन्तुले सूर्योदय मनको ढोकासम्म पुर्याउँदा
बादलको लजालु घुम्टोभित्र
कन्याम केही भन्न खोजेजस्तो चुपचाप टोलाइरहन्छ ।
आऊ, कन्यामकै डाँडामा अलि बेर बसौँ
औँलाबीच चियाका कोमल पात समातेर
हत्तारोमा दौडिरहेको समयलाई चौतारीको
ढुङ्गामाथि एकैछिन बसालौँ ।
स्क्रिनमा फोटो
टिकटक र भिडियो कैद हुनुअघि
आँखाले देखेको सुन्दर क्षण
मनभित्र नबिग्रने गरी सजाऔँ ।
उता, माइपोखरीको स्थिर जलमा रङ्गीविरङ्गी रूपमा
आकाश आफैँ निहुरिन्छ; गजुरमुखीको न्यानो काखमा
थाकेको मन लामो सास फेर्छ ।
सन्दकपुर र सिद्धिथुम्का क्षितिजबाट बोलाउँछन्
डुलिराख, घुमिराख, मन भरिएसम्म ।
इलाम, तिमी केवल भूगोल होइनौ
तिमी त अनुभूति हौ !
सूर्यको पहिलो किरणझैँ मनको भित्री कुनामा
शब्द नचाहिने गरी
सधैँ टल्किरहने
सधैँ चम्किरहने
हीराको सानो तर अमूल्य टुक्रा ।

