साहित्यपोस्ट डट कम

कविता : इलाम

कविता : इलाम

पूर्व क्षितिज बिस्तारै फाट्दै जाँदा

सूर्यले आँखा खोल्ने पहिलो थलो इलाम।

श्रीअन्तुको निधार छोएर न्यानो उज्यालो तल झर्दा

चियाबारीले हरियो कम्बल तान्छ

ओसिलो माटोको गन्धसँगै

धरती नबोली हल्का मुस्कुराउँछ ।

कन्यामका डाँडामा चिया र शीत मिसिएको

हावा सरसर बग्छ

हरिया पातका टुप्पामा अडिएका शीतका थोपाहरू

झर्ने कि बसिरहने दोधारमा

समयजस्तै काँपिरहेका देखिन्छन् ।

श्रीअन्तुले सूर्योदय मनको ढोकासम्म पुर्‍याउँदा

बादलको लजालु घुम्टोभित्र

कन्याम केही भन्न खोजेजस्तो चुपचाप टोलाइरहन्छ ।

आऊ, कन्यामकै डाँडामा अलि बेर बसौँ

औँलाबीच चियाका कोमल पात समातेर

हत्तारोमा दौडिरहेको समयलाई चौतारीको

ढुङ्गामाथि एकैछिन बसालौँ ।

स्क्रिनमा फोटो

टिकटक र भिडियो कैद हुनुअघि

आँखाले देखेको सुन्दर क्षण

मनभित्र नबिग्रने गरी सजाऔँ ।

उता, माइपोखरीको स्थिर जलमा रङ्गीविरङ्गी रूपमा

आकाश आफैँ निहुरिन्छ; गजुरमुखीको न्यानो काखमा

थाकेको मन लामो सास फेर्छ ।

सन्दकपुर र सिद्धिथुम्का क्षितिजबाट बोलाउँछन्

डुलिराख, घुमिराख, मन भरिएसम्म ।

इलाम, तिमी केवल भूगोल होइनौ

तिमी त अनुभूति हौ !

सूर्यको पहिलो किरणझैँ मनको भित्री कुनामा

शब्द नचाहिने गरी

सधैँ टल्किरहने

सधैँ चम्किरहने

हीराको सानो तर अमूल्य टुक्रा ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.