साहित्यपोस्ट डट कम

कविता : हृदयको तस्वीर

कविता : हृदयको तस्वीर

आँगनमा आमालाई राखेर

फेदाङ्बाले मुन्धुम पुकार्दै गर्दा

आफ्ना आफन्तले

आँसु पुछ्दै, मुख छोप्दै

आमालाई सेतो फूल अर्पण गर्दै थिए ।

त्यसैबेला; आमाको निधारमा सिक्काको टीका देखेपछि

मेरो बालमस्तिष्कले केही सोचबुझ गर्न सकेको थिएन ।

‘लुप्खाम इङ्मा थिम’ अनुरूप

आमालाई लुप्पमा पुरेर, मट्टी छातीमा राखेर

आमाको चेःहिमलाई छाडी राखेर

घर फर्किएको अर्को रात

आप्पाको कोठाको भित्तेघडी छेउमा

भित्तामा मेरी आमाको तस्वीर नियाल्दै

मैले सोधेको थिएँ “आप्पा ! आमा कहिले आउनुहुन्छ ?”

मेरो बाल–सवालको समयमा

खोस्टाको पिर्कामा बसेर

लाहुरमा गोलीले चुँडालिएको अपाङ्ग खुट्टा सुम्सुम्याउँदै हुनुहुन्थ्यो आप्पा ।

आप्पाले एक श्वासमा जवाफी उत्तर दिनुभयो

उँभो आकाशतिर औँलाले देखाउँदै, शिर निहुराएर

“तेरी आमा अब जून बनी, तेरी आमा माथि–माथि गई ।”

आप्पाको असुहाउँदिलो उत्तरसँगै

ऊ बेलामा, बाल–मानसपटल रन्थनिएको थियो ।

लुप्पमा पुरिएकी बिरामी आमा

कसरी पुग्लिन् जून बन्न ताङ्साक ?

आज वर्षौँपछि ठ्याक्कै त्यस्तै भएको छ ।

आज, आफैँ आप्पा बन्ने समयमा

आज, मेरी अर्धाङ्गिनी जून बन्ने यात्रामा गई

लुप्पमा पुरेर, चेःहिममाथि छोडी आएको छु उनको एक तस्वीर ।

मध्यरातमा, भित्ताको घडीमा तीनवटै सुईले

सामूहिक आत्महत्याको प्रयासजस्तै देखिने समय बजाएको छ ।

यतिबेला, मेरो निद्रा हराएको छ ।

छन त छ…! मसँग सवालको जवाफ छ

भर्खरै कोठाको भित्तामा राखेको छु उनको सादा तस्वीर ।

तर यतिबेला मसँग…! ?

मेरो मथिङ्गल रन्थिनाउने सवाल गर्न मेरा साबोरा छैनन् ।

दुई जिउकी मेरी उनी छैनन् ।

यदि जन्मिएको भए…! ? मेरो साबोरा

एकदिन न एकदिन, वर्षौँपछि लाहुरबाट फर्केपछि

सोध्ने थियो होला…!?

भित्ताको तस्वीरमा टाँसिएको धुलो पुछ्दै

आमाको मायाको रङ्गले रङ्गिन नपाएको

उही तस्वीरझैँ फुङ्ग उडेको अनुहार लिएर

मेरो उज्यालो अनुहार हेर्न मलाई नै काउकुती लगाएर

भित्ताको तस्वीरमा देखाउँदै प्रश्न गर्थ्यो होला

“आप्पा ! यो भित्तामा मुस्कुराइरहेको तस्वीर कसको हो ?”

(यस कवितामा केही लिम्बू भाषाका शब्दहरू प्रतीकका रूपमा प्रयोग गरिएको छ। सजिलो रूपमा बुझ्नका लागि तिनका नेपाली शाब्दिक अर्थ यसप्रकार छन्:)

फेदाङ्बा : लिम्बू जातिका पुरोहित (मुन्धुमी संस्कार जान्ने–बुझ्ने व्यक्ति)

मुन्धुम : लिम्बू जातिको धर्मशास्त्र/धर्मग्रन्थ

लुप्प : लिम्बू परम्परा अनुसार दाहसंस्कारमा लाशलाई गाड्ने चलन हुन्छ। त्यसका लागि खनिएको खाडललाई ‘लुप्प’ भनिन्छ।

लुप्खाम इङ्मा थिम : मृत्यु भएपछि लाश राखिने माटो किन्ने (खरिद गर्ने) चलनअनुसार गरिने लिम्बू जातिको एक संस्कार

चेः हिम : चिहान

आप्पा : बुवा

ताङ्साक : आकाश

साबोरा : सन्तान

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.