साहित्यपोस्ट डट कम

कविता : हिजोसम्म म बाटोको फूल थिएँ…

कविता : हिजोसम्म म बाटोको फूल थिएँ…

हिजोसम्म म बाटोको फूल थिएँ

जसलाई मन लाग्यो उसैले टिप्थे

जसरी मन लाग्यो उसैगरी टिप्थे

मैले कहिल्यै गुनासो गरिनँ

आफू चुँडिनुपरेकोमा ।

टिप्नेहरूले पनि

दिनभरि शिरमा सजाउँथे

रात परेपछि ओछ्यानमा पुर्‍याउँथे

र बिहान बढारेर फालिदिन्थे

मैले कहिल्यै गुनासो गरिनँ

एकै रातमा आफू बढारिनुपरेकोमा ।

म त बरु

फेरि फुल्थेँ उसैगरी

र उभिदिन्थेँ बाटोमा उसैगरी ।

हिजोसम्म म बाटोको फूल थिएँ

यसरी फुलिदिन्थेँ

जसले जसरी टिपे पनि सजिलै चुँडिन्थेँ

मैले कहिल्यै गुनासो गरिनँ

चुँड्नेहरूको नाममा ।

मलाई टिप्नेहरूको

मैले जात हेरिनँ, उमेर हेरिनँ

र कहिल्यै सोधिनँ टिप्नुको उद्देश्य पनि

म त चुँडिनुमै आनन्दित हुन्थेँ ।

हिजोसम्म म बाटोमा फुलेको फूल थिएँ

मैले घाम भनिनँ, पानी भनिनँ

मुस्कुराउँदै फुलिरहेँ हावाहुरी सहेर

मैले कहिल्यै गुनासो गरिनँ

आफू ओइलिनुपरेकोमा

अनायासै झर्नुपरेकोमा ।

पर्खाइ कसैको थिएन

तर पनि म

बाटोमै उभिएर फुलिरहेँ

आउने-जानेहरूको भिड नियाल्दै ।

हिजोसम्म म बाटोको फूल थिएँ

बाटोमै फुलेर पनि

कहिले कसैले देखेनन्

कहिले कसैले देखेर पनि नदेखेझैँ गरे

मैले कहिल्यै गुनासो गरिनँ

उनीहरूको नजरमा

बरु फुलिरहेँ

अपमानका धुलो र धुवाँ सहेर ।

हिजोसम्म म बाटोको फूल थिएँ

कहिले मन्दिरको ढोकासम्म पुगेर

ढोकाबाट भित्र फालिएँ

कहिले तुलसीको मठमा पुगेर ओइलिएँ

कहिले लासमाथि बसेर घाटसम्म पुगेँ

कहिले भर्खर जवानी चढ्दै गरेका

युवतीका कानमा सिउरिएर

कक्षाकोठासम्म पुगेँ

कहिले बैँसले उन्मत्त किशोरहरूको हातबाट

उनीहरूका प्रेमिकासम्म पुगेँ

मैले कहिल्यै गुनासो गरिनँ

आफू त्यसरी पटक-पटक चुँडिनुपरेकोमा

बरु फुलिरहेँ निरन्तर ।

हिजोसम्म म बाटोको फूल थिएँ

तर अब मलाई आँखा नलगाउनू

अब त मलाई कसैले

आफ्नो दिलको गमलामा रोपिसकेको छ ।

अब त मैले

उसैका लागि फुल्नु छ

उसैका लागि फक्रिनु छ

र मग्मगाउनु छ उसैका लागि मात्र ।

ओइलिनुपरेछ भने पनि म

उसैका लागि ओइलिने छु

झर्नुपरेछ भने पनि म

उसैको हातबाट झर्ने छु

उसैले टिप्छे

र धुलो टक्टकाउँदै

उसैले फेरि शिरमा सजाउने छे ।

अब मलाई आँखा नलगाउनू

अब त म

अरू कसैको दिलको गमलामा

फुल्न लागेको फूल हुँ ।

हिजोसम्म म बाटोको फूल थिएँ…

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.