साहित्यपोस्ट डट कम

कविता : हावा कविता

कविता : हावा कविता

भू-गोलको गोल चक्करमा

अविरल, अविच्छिन्न

अविचलित, अथक

अनवरत यात्रा

बेगन्तव्य ।

उपस्थिति विना

जीव-जगत् अधुरो, अपुरो

र मिथ्या।

जन्मँदा ‘च्याँ’

र मर्दा ‘आँ’ सम्म।

अदृश्य

न रङ्ग, न रूप, न आकार

न स्वाद, न ओजन, न भोजन

न जन्म, न मृत्यु

अजर-अमर

मात्र स्पर्शको अनुभूति ।

कहिले मन्द समीर

कहिले प्रलयकारी आँधी

अदम्य

बस्ती-जङ्गल फाँड्दै

बाली-गुड-कटेरा माड्दै

सागरको लहरदेखि

सगरको तालुसम्म ।

कहिले पछ्यौरी तान्दै

अङ्ग-अङ्ग मुसार्दै

कसैलाई पछार्दै

सल्लीपिरसँगै सुसेल्दै

धानसँग बयेली खेल्दै

पोखरी-तलाउ-समुद्रमा

तरङ्ग चाल्दै ।

भिर-पाखा

गुराँस-लालीसँग मस्कँदै

चराको चिरबिर

बाँसुरीको सुरसँगै

मभित्र, मबाहिर

कमिलादेखि ह्वेलसम्म ।

भवसागर अद्भुत !

न खरिद, न बिक्री, न भण्डारण

बिनामूल्यमै प्राप्त

अमूल्य ।

गति

न सिमानाले रोक्यो

न पर्वत-शृङ्खलाले छेक्यो

न घामले पगाल्छ

न हिउँले जमाउँछ

न आगोले जलायो

न बाढीले बगायो

न ओरालीमा लड्यो

न उकालीमा पसिना काढ्यो ।

न गोरेटो, न साँघु

न रात, न दिन

न औँसी, न पूर्णिमा

अगाडि कता? कता छ पछाडि ?

वैश्विक युग

उपभोगको नाममा मानवद्वारा अतिक्रमित

दोहित र प्रदूषित ।

आगमन कहाँबाट ?

र प्रस्थान विन्दु ?

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.