साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

कविता : हतारो

कविता : हतारो

हामी गुडिरहेको सडक

हतारोको सङ्ग्रह हो ।

कालो सिसाभित्रको शासकलाई

सत्ता भोग्न हतार छ

लेन मिच्दै कुदेका महाशयलाई

मदिरा पिउन हतार छ

दुईपाङ्ग्रेमा बत्तिएका कारिन्दालाई

हाजिरी जनाउन हतार छ ।

हतार धेरैलाई छ

जेब्राक्रसमा नानी डोहोर्याइरहेकी आमालाई

स्कुल पुग्न हतार छ

सडकपेटीका भोका भरियालाई

भारी पाउन हतार छ

धोका खाएकी प्रेमिकालाई

रुने एकान्त पुग्न हतार छ ।

सडकमा भ्रष्टहरूलाई पनि हतार छ

सदाचारीलाई पनि हतारै छ ।

पुलिसलाई बन्दी ओसार्न हतार छ

तस्करलाई माल ओसार्न हतार छ ।

फूल बेच्ने माली र मासु बेच्ने कसाही

दुवैलाई निकै हतार छ ।

एम्बुलेन्स चिच्याउँदै कुदिरहेछ

बिरामीलाई हतार छ ।

मुढा लादिएको ट्याक्टर बत्तिँदै छ

चितालाई हतार छ ।

शववाहन रुँदै कुदिरहेछ

मलामीलाई हतार छ ।

यहाँ हतार नहुनेहरू पनि छन्

गोजी टक्टकिएका श्रमिक

कोठाभाडा नतिरेका विद्यार्थी

ओखती नकिनेका कुरुवा,

जिन्दगानीको भागदौड बुझेका वृद्ध

आजलाई शरीर बेचिसकेकी नगरबधु

सडकको लय पढिरहेको कवि

र स्वयम् सडक !

हतारोका यी बागीहरूलाई लाग्छ

सबै हतारोहरू

सबैका होइनन् ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.