भावहरू
सापेक्षित हुन्छन् !
परिस्थितिजन्य हुन्छन् !
मनस्थितिजन्य हुन्छन् ।
परिस्थितिका, मनस्थितिका
शरीरका, वातावरणका
सङ्केतअनुसार
चलिरहन्छन् ।
कसैले सोध्ला
निथ्रुक्क भिजेका बेला
तिमी किन ओभानो छैनौ ?
तिमी किन खुसी छैनौ ?
मान्छे भिजाउँदा पानीले, ओभानो हुन सक्दैन
मान्छे पहारिलो घाममा रुझेको हुन सक्दैन !
पूर्णतावादमा
अभ्यस्त भएका मान्छेहरू
हरेक कुरा पूर्ण खोज्छन्
हरेक कुरा राम्रो खोज्छन्
अपूर्ण नभई सम्पूर्ण खोज्छन् ।
अपूर्ण खोला नदी बन्छ
अपूर्ण नदी सागर बन्छ
अन्तिममा खोला पूर्ण बन्छ !
न सागर नराम्रो
न खोला नराम्रो
न पूर्ण नराम्रो
न अपूर्ण नराम्रो ।
पूर्ण राम्रो, अपूर्ण नराम्रो
कसैले मान्यता दिएका धारणाहरू हुन्
थोपरिएका अभ्यस्त धारणाहरू हुन् ।
धारणाहरू
समयको चक्रसँगै विनिर्माण हुन्छन् !
समयको चक्रसँगै निर्माण हुन्छन् !
त्यो कालो बादल कति राम्रो हुन्छ !
त्यो झरेको झरी कति राम्रो हुन्छ !
त्यो खुलेको आकाश कति राम्रो हुन्छ !
खुलेको आकाशमुनि
त्यो हरियो चहुर कति राम्रो हुन्छ !
हजुरसँगै बस्दा त्यतिबेला
हजुरकी प्रियतमा कति राम्री हुन्छिन् !
सँगै टोकेको बदाम कति राम्रो हुन्छ !
कालो बादल नलागेरै
झमझम झरी नपरेरै
मधुरो घाम लाग्न सक्दैन ।
लेख्नेहरूले त्यसै लेखिदिए
भन्नेहरूले यसै भनिदिए
बादल नराम्रो, घाम राम्रो !
बादलमा पनि त घामको बीज हुन्छ
कालो हुन्छ, सुन्दर चिज हुन्छ !

