चन्द्रमाको आकाश
र सानोमा कुदी हिँड्ने खेतको खोजीमा
हत्तोहरान भएको मनले पृथ्वीलाई सोधिहेर्यो
किन यस्तो भयो ?
किताबका पृष्ठहरूमा मुद्रा लागे
बोट–बिरुवाहरू ठूला भएर घर बने ।
जीवहरू केवल मानिस बने
त्यसैले ।
पानी पर्दा झन्झट मान्ने बालकलाई भनेँ
आउन दे नानी
नत्रभने भविष्यमा तैँले पनि सोध्नेछस्
वर्षाका थोपाहरू आकाशमै किन अडिइरहे ?
ठूलो पोखरीका जलकुम्भीहरूमा हिँड्ने
मानिसहरूको साइकल व्यायाम बन्यो ।
स्कुलको निबन्धमा स्याबासी पाएको बालकले
जीवनको लक्ष्यमा बुद्धू बनी हेरिरहेछ ।
हामी सबै यहीँ रहेका छौँ त
साथमा हरियाली मनहरू पनि ।
हजुरआमाजस्तै खित्खिताएर हाँस्नलाई
आकाशको जूनलाई जिस्काउनलाई
पक्षीसँग कुराकानी गर्नलाई एउटा आलो
हरियाली पृथ्वी चाहिन्छ
एउटा प्रेमको पृथ्वी ।
मूल असमिया कविता: इन्तिकाबुर रहमान अनुवाद: डा. देवेन सापकोटा

