हरे !
के सुन्नुपर्यो यस्तो ?
यो देश
श्रमजीवीको हुँदै होइन
बिहान र बेलुकाको छाक टार्न
दिनभरि नङ्ग्रा खियाउनेहरूको त झन् हुनै सक्दैन
किनकि
यो देश भ्रष्ट, द्रोहीजस्ता यावत्हरूको हो
गरिब र निमुखाको झनै होइन
यो देश सुकिलामुकिला र मै हूँ भन्नेहरूको हो
झुपडीवालाको त हुने कुरै भएन
सिसाका महलवालाको हो
यो देश चलाउने सरकारको त कुरै नगरौँ
सत्ता बाहिर हुँदा गफ मात्र दिने
सत्तामा आसीन भए वास्ता नगर्ने
अरे वा ! कमाल छ सरकार
मनन गर्छु, हेर्छु
अहिलेसम्म जोसुकै सरकार आए पनि
गरिबका लागि रहेनछ
श्रमजीवीका लागि रहेनछ
परिश्रमीका लागि रहेनछ
झुपडीवालाका लागि रहेनछ
हजारौँ निर्दोष गणेशका लागि रहेनछ
आज हजारौँ गणेशहरू
गाउँदेखि सहर पसेका छन्
बुढा आमाबा, श्रीमती, छोराछोरी र आफन्त खुसी पार्न
एक छाक भए पनि चामलको माड चखाउन
आफू अन्धकारमा जाकिएर
भावी सन्ततिलाई पढाउन आदि आदि
हिजो सडकमा
एउटा गणेश मात्र जलेन
हरेक जेन्जी युवा जले
हजारौँ सपना जले
सिङ्गो परिवारका आशाहरू जले
गणेश ! तिम्रो पीडा म बुझ्न सक्छु
किनकि म पनि त्यही भुमरीमा परेको व्यक्ति हूँ
काठमाडौँको खाल्डोले सकेको लुट्छ
कमाइ, इज्जत, जवानी सबै
सके त ज्यान पनि लुट्छ
आज तिम्रो ज्यान लुटे जस्तै गरी
तिमीलाई यो स्थितिमा पुर्याउने
नगर प्रहरीलाई
हालको सरकारलाई
अझ भनौँ यो राजधानीलाई
सन्तोष मिल्यो होला
तिम्रो मृत्युको खबरले
तर आज
पश्चिम बेस्सरी रोएको छ
कर्णाली झन् रोएको छ
मुगुको त कुरै नगरौँ पुरै शोकमा छ
अनि तिम्रो घरपरिवारको कुरा नगरौँ
मन भक्कानिन्छ मेरो
तिमी सम्हालिएर जाऊ है
अलविदा गणेश, अलविदा !
न्याय पाउँछौ पाउँदैनौ, त्यो त सरकारले के गर्छ ?


