जब आत्मा स्वतन्त्र हुन्छ
संसारको बन्धनबाट, कटुताबाट, अन्धकारबाट
त्यो क्षण एक हाँसो फुत्कन्छ तिम्रो ओठबाट
जस्तो बिहानको पहिलो किरण
ओठमा झल्किँदै बस्छ मुस्कानमा ।
जब आत्मा उज्यालो हुन्छ
अज्ञानका बादल पन्छिन्छन्
मनको आँधी थामिन्छ
शून्यको सङ्गीत गुञ्जिन्छ भित्र
अनि त्यो क्षण हाँसो नै प्रार्थना बन्छ
जहाँ मौन बोल्न थाल्छ र अस्तित्व मुस्कान बन्छ ।
भावनाका अनेक चित्र भेटिन्छन् तिम्रो पाटीमा
रङ्ग, रूप, रूपक सबै मेटिँदै जान्छन्
भित्र बाँकी रहन्छ केवल शुद्ध आत्मा
खोक्रो होइन, पूर्ण शून्य ।
त्यो क्षण, विशाल हाँसो फुट्छ तिम्रो मुहारमा
जस्तो आकाश आफैँ हाँसेर खुलेको होस् ।
संसारको कालो पर्दाबाट
एकैछिन पर हेर्न सक्यौ भने
अँध्यारो मनको कुनामा
एउटा दियो बाल्न सक्यौ भने
तब तिमी हाँस्ने छौ, हाँसिरहने छौ
किनकि त्यो हाँसो, तिम्रो आत्माको उज्यालो हो ।
जब तिमी भित्रको मौन सुन्न थाल्छौ
समय थामिन्छ, सोच हराउँछ
अनि श्वास मात्र रहन्छ शुद्ध, निर्मल, साक्षी
त्यो क्षण तिम्रो हाँसो स्वतः फैलिन्छ गगनमा
जस्तो अस्तित्व स्वयम् तिम्रो रूपमा हाँसेको छ ।

