चुपचाप बस्नु नि
केसारो राजनीति गरेको
मलाई अक्सर
यसै भनेर गाली गर्छन्
आफन्तजनहरू ।
यसको मतलब
के म ढुङ्गा हुँ, के म माटो हुँ ?
मेरो नाङ्गो छातीमाथि बर्बर बुट बजार्दा
ऐया पनि भन्न नपाउनु ?
केको खसखस
खुरुखुरु जागिर खानु नि
मलाई अक्सर
यस्तै गुनासो गर्छन्
साथीभाइहरू ।
यसको मतलब
के म सुनकोशीको भेलले बगाउँदै ल्याएको
निर्जीव काठको मुढा हुँ र ?
मेरो कन्चटमाथि
सोझै ताकेर
ट्रिगर दबाउँदासम्म
आथ्थु पनि भन्न नपाउनु ?

