साहित्यपोस्ट डट कम

कविता : गोरेटो र जिन्दगी

कविता : गोरेटो र जिन्दगी

आफू सानो छँदा

स्वागतद्वार ठड्याएर

तेर्सिएका थिए

सम्भावनाका बग्रेल्ती गोरेटाहरू ।

रहरले आँखा खोल्नुअघि नै

पत्तै नपाई

शुरु भएछ

एउटा (अ)निश्चित यात्रा ।

भयो यस्तो कि

आठ–दस कदम नहिँड्दै

गोरेटो आफैँ अल्मलियो

र छिर्यो एउटा भयङ्कर सुरुङभित्र ।

कतै निस्पट्ट अँध्यारो

कतै भयङ्कर भड्खालो

कतै अनकन्टार भीर

कतै उकालो–ओरालो ।

वर्षौँको सङ्घर्षमयी हिँडाइ, कुदाइ

भोक, प्यास र अनिद्रा…

सुरुङ जसोतसो छिचोलियो

तर अझै असमथर, अप्ठ्यारो, अस्पष्ट गोरेटो ।

उफ् !

जोबन बितुञ्जेल

असिनपसिन हिँड्दा पनि

कुनै क्षितिजको

कुनै गन्तव्यको

सङ्केतसम्म देखिएन ।

आज

मध्यान्तरको भ्युटावर चढेर

हेर्दैछु पछिल्तिर

र हेर्दैछु छुटिसकेका

दूर–दूरसम्म फैलिएका

ती असङ्ख्य गोरेटाहरू ।

आहा !

टाढैबाट भए पनि

प्रस्टै देखिँदैछन्

कैयौँ ती गोरेटाहरू, बाटाहरू र राजमार्गहरू ।

देखिन्छन् रमाइरहेका बटुवाहरू

हात समाई हिँडेका प्रफुल्ल प्रेमीहरू

हाँसोले उज्यालिएका अनुहारहरू ।

भ्युटावरको उपल्लो कौसीमा थचक्क बसेको छु

र खोल्दैछु जिन्दगीको थोत्रो ल्यापटप ।

असरल्ल छरिएका छन् हाफ–टाइमसम्मका एक्सेल–डाटा

तर किन हो

सेभ हुन मान्दैनन्

ती कुनै ।

अन–सेभ्ड फाइलहरू त्यसै छोडेर

खोज्दैछु प्रेम र सुखको नयाँ सफ्टवेयर

धन र मन मिलाउने

माया र साथ गाँस्ने

सपनाहरूलाई एउटै फोल्डरमा सजाउने

कुनै हाइब्रिड फाइल ।

सोच्दैछु एक पटक

अस्तव्यस्त यात्रालाई निर्धक्क ‘अनडु’ गरूँ

भुल र गुनासाका गोरेटालाई ‘डिलिट’ गरूँ

अनि

मुटुको हार्डडिस्कमा बाँकी उज्यालो बचाइराखेर

जिन्दगीलाई फेरि एकपटक

‘रिसेट’ गरूँ

र शुरु गरूँ

त्यही ‘हाइब्रिड’ फाइलको

एक नयाँ जिन्दगी प्रोग्राम

एक समथर गोरेटो

एक प्रेमिल र सुन्दर यात्रा ।

ट्याग: पेशल खनाल
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.