(लघुकविता)
जति पटक लडे पनि
उठ्दै दौडँदै गर्नुको त्यो लक्ष्य
केवल एउटै रहेछ "गोल"
जसको लागि
फुटबलको मैदानमा होस्
या जिन्दगीको मैदानमा
विजयको गोल गर्ने मौका खोज्दै
मान्छेका स्वचालित खुट्टाहरू
मनभन्दा छिटो दौडिरहेका हुने रहेछन् ।
तर दौडँदा दौडँदै पनि
जितका सबै "गोल" र खुसी
आफ्नो बनाउनु कहाँ सम्भव रहेछ र !
पराजयको पीडा पनि
जिन्दगीमा सँगसँगै दौडिरहेकै हुने रहेछ
जुन दौडको हरेक सङ्घर्षले दिने
हार-जितको "गोल" नै अन्तत
जिन्दगीको शाश्वत स्वीकारोक्ति हुने रहेछ ।

