शिरमा खिया लागेको श्रीपेच
अनुहारमा इतिहासले चिथोरेका
बर्बरताका काला खतहरू
आँखाभरि भत्किएको आकाश
र लट्ठी टेक्दै हिँडेका बुढा सपनाहरू ।
नसा–नसामा बगिरहेको
अपमान र उपेक्षाको चिसो रगत
छातीभित्र
निकास नपाएका
क्रान्तिका बल्झिरहने घाउहरू ।
खुट्टामुनि चर्किएको भरोसाको माटो
पैतलामा समयले ठोकेका किलाहरू
ओठमा कैदी आवाजहरू
र मनभरि
रोबिन्सन क्रुसोको
डायस्पोरिक तिक्तता बोकेर
गन्तव्यविहीन यात्राको
अर्को अज्ञात घुम्तीमा
घस्रिरहेछ मेरो अपाङ्ग पहाड… ।

