धुरी, खाँबा र दलिनले मात्र
बनेको हुँदैन घर
घर एउटा ठेगाना मात्र पनि होइन ।
घरसँगै गाँसिएका हुन्छन् सम्बन्धका गहिरा जराहरू
जोडिएका हुन्छन् आत्मीय मनहरू
बाँधिएका हुन्छन् स्मृतिका धागोहरूले ।
चुलो, चौका र कोठाहरू
विश्वास र आस्थाका रङहरूले
पोतिएका हुन्छन् आँगन र भित्ताहरू ।
घर अस्तित्वको पहिचान हो
मनको शान्त विश्रामस्थल
एउटा सुन्दर संसार हो ।
जहाँ पुगे पनि
थाकेका पाइलाहरू
घरको आँगनमै आएर सुस्ताउँछन्
ढोकाले न्यानो अँगालो हाल्छ
मनको आकाशमा मिठो मुस्कान फुल्छ ।
रङ खुइलिएको भए पनि
धुरी चुहिएकै भए पनि
आफ्नै घर सधैँ न्यानो र प्यारो लाग्छ ।
जब हठात्
आफ्नै आँखाअगाडि
वर्षौँदेखि ओत दिइरहेको धुरी खस्छ
भित्ताहरू चकनाचुर भएर ढल्छन्
आँगनका फूलहरू मुर्झाउँछन्
दलिनमा बास बस्न आउने गौँथलीहरू
आफ्नो गुँड खोज्दै कराउँछन् ।
त्यति बेला
घर मात्रै भत्किँदैन
मनभित्रको संसार चर्किन्छ
स्मृतिका पानाहरू च्यातिन्छन्
सम्बन्धका बलिया जराहरू टुक्रिन्छन् ।
आफ्नै आकाश हराउँदा
आफैँले टेकेको जमिन भासिँदा
आफ्नै अस्तित्व
आफ्नै आँखाअगाडि चिप्लिँदा
घर मात्र होइन
घरसँगै धेरै सम्बन्धहरूको
उठीबास हुँदो रहेछ ।

