साहित्यपोस्ट डट कम

कविता : घर

कविता : घर

धुरी, खाँबा र दलिनले मात्र

बनेको हुँदैन घर

घर एउटा ठेगाना मात्र पनि होइन ।

घरसँगै गाँसिएका हुन्छन् सम्बन्धका गहिरा जराहरू

जोडिएका हुन्छन् आत्मीय मनहरू

बाँधिएका हुन्छन् स्मृतिका धागोहरूले ।

चुलो, चौका र कोठाहरू

विश्वास र आस्थाका रङहरूले

पोतिएका हुन्छन् आँगन र भित्ताहरू ।

घर अस्तित्वको पहिचान हो

मनको शान्त विश्रामस्थल

एउटा सुन्दर संसार हो ।

जहाँ पुगे पनि

थाकेका पाइलाहरू

घरको आँगनमै आएर सुस्ताउँछन्

ढोकाले न्यानो अँगालो हाल्छ

मनको आकाशमा मिठो मुस्कान फुल्छ ।

रङ खुइलिएको भए पनि

धुरी चुहिएकै भए पनि

आफ्नै घर सधैँ न्यानो र प्यारो लाग्छ ।

जब हठात्

आफ्नै आँखाअगाडि

वर्षौँदेखि ओत दिइरहेको धुरी खस्छ

भित्ताहरू चकनाचुर भएर ढल्छन्

आँगनका फूलहरू मुर्झाउँछन्

दलिनमा बास बस्न आउने गौँथलीहरू

आफ्नो गुँड खोज्दै कराउँछन् ।

त्यति बेला

घर मात्रै भत्किँदैन

मनभित्रको संसार चर्किन्छ

स्मृतिका पानाहरू च्यातिन्छन्

सम्बन्धका बलिया जराहरू टुक्रिन्छन् ।

आफ्नै आकाश हराउँदा

आफैँले टेकेको जमिन भासिँदा

आफ्नै अस्तित्व

आफ्नै आँखाअगाडि चिप्लिँदा

घर मात्र होइन

घरसँगै धेरै सम्बन्धहरूको

उठीबास हुँदो रहेछ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.