साहित्यपोस्ट डट कम

कविता : घामको कथा

कविता : घामको कथा

घामले झुल्किन समय लगायो

त्यही विलम्बमा टेकेर एउटा कथा रचना गरियो

जहाँ जीवन सबैसँग थियो

तर जीवित बन्ने अभ्यास अधुरो थियो ।

त्यो कथामा एक पात्र थियो

जो भीडजस्तो देखिन्थ्यो तर भीड थिएन ।

उसले मृत्यु देखेन

तर मृत्युलाई काँधमा राखेर हिँड्यो

दिनहुँ मनभित्र ठुलो अन्त्य बोकेर ।

एक दिन, उसले आफूलाई भेट्यो

ऐनामा होइन, कालो छायामा

कालै पर्दापछाडि छोपिएको ।

त्यहाँ कुनै निर्णय थिएन

केवल एउटा शान्त स्वीकृति थियो

प्रतिशोध पनि अस्तित्व हो ।

उसको खल्तीमा एउटा ढुङ्गा थियो

सानो तर भारी— रिसले होइन, अनुभूतिले ।

कहिलेकाहीँ लाग्थ्यो घाम फुटाउनुपर्छ

कारण समयले सिकाउन सकेन

घाम फुटाएर होइन, आँखा फेरिएपछि बिहान हुन्छ ।

टुटेको घडी भित्तामा झुण्डिएकै थियो

र दिनमा दुई पटक सही समय देखाएकै थियो

त्यसैले प्रयास व्यर्थ भएन

ढिलाइ पनि दिशा बन्यो र मेरो पात्र दिशानिर्देशक ।

धैर्य बिस्तारै गुमनाम होला

आफ्नै गरिमा गुमाउन तल्लीन मेरो पात्र

फुटेको ऐनाबाट आकृति गायब भएजस्तो ।

मुलुकबाट मानिस नजाऊन्, आत्मसम्मान उभिनुपर्छ

हारबिना होइन, हारबाट सिकेर ।

कथा अझै सकिएको छैन

आज स्वतन्त्रता छ, भोलि सायद के होला ?

तर दुवैबाट जन्मिनेछ

अस्तित्व रहने वा नरहने कारण ।

अन्त्यमा बुझियो

उतारचढावबिना अहङ्कार उम्रिन्छ

र अहङ्कारले सबैभन्दा सुन्दर संरचना पनि

चुपचाप भत्काउँछ ।

त्यसैले कथा हिँडिरहन्छ

घामसँग, छायाँसँग, समयसँग

खल्तीमा ढुङ्गा बोकेर ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.