घामले झुल्किन समय लगायो
त्यही विलम्बमा टेकेर एउटा कथा रचना गरियो
जहाँ जीवन सबैसँग थियो
तर जीवित बन्ने अभ्यास अधुरो थियो ।
त्यो कथामा एक पात्र थियो
जो भीडजस्तो देखिन्थ्यो तर भीड थिएन ।
उसले मृत्यु देखेन
तर मृत्युलाई काँधमा राखेर हिँड्यो
दिनहुँ मनभित्र ठुलो अन्त्य बोकेर ।
एक दिन, उसले आफूलाई भेट्यो
ऐनामा होइन, कालो छायामा
कालै पर्दापछाडि छोपिएको ।
त्यहाँ कुनै निर्णय थिएन
केवल एउटा शान्त स्वीकृति थियो
प्रतिशोध पनि अस्तित्व हो ।
उसको खल्तीमा एउटा ढुङ्गा थियो
सानो तर भारी— रिसले होइन, अनुभूतिले ।
कहिलेकाहीँ लाग्थ्यो घाम फुटाउनुपर्छ
कारण समयले सिकाउन सकेन
घाम फुटाएर होइन, आँखा फेरिएपछि बिहान हुन्छ ।
टुटेको घडी भित्तामा झुण्डिएकै थियो
र दिनमा दुई पटक सही समय देखाएकै थियो
त्यसैले प्रयास व्यर्थ भएन
ढिलाइ पनि दिशा बन्यो र मेरो पात्र दिशानिर्देशक ।
धैर्य बिस्तारै गुमनाम होला
आफ्नै गरिमा गुमाउन तल्लीन मेरो पात्र
फुटेको ऐनाबाट आकृति गायब भएजस्तो ।
मुलुकबाट मानिस नजाऊन्, आत्मसम्मान उभिनुपर्छ
हारबिना होइन, हारबाट सिकेर ।
कथा अझै सकिएको छैन
आज स्वतन्त्रता छ, भोलि सायद के होला ?
तर दुवैबाट जन्मिनेछ
अस्तित्व रहने वा नरहने कारण ।
अन्त्यमा बुझियो
उतारचढावबिना अहङ्कार उम्रिन्छ
र अहङ्कारले सबैभन्दा सुन्दर संरचना पनि
चुपचाप भत्काउँछ ।
त्यसैले कथा हिँडिरहन्छ
घामसँग, छायाँसँग, समयसँग
खल्तीमा ढुङ्गा बोकेर ।

