घडीले आफ्नै वृत्तभित्र कैद गर्न खोज्छ क्षणहरू
तर समय वृत्तबाहिरको अनन्त मौन विस्तार हो ।
टिक–टिक केवल ध्वनि हो अस्तित्वको नक्कली मापन
समय त त्यहाँ बग्छ, जहाँ शब्दको समेत पहुँच हुँदैन ।
सुईहरू घुमिरहन्छन्
नियतिको अभ्यासझैँ दोहोरिँदै
तर समय कहिल्यै हिँड्दैन
ऊ स्वयं यात्राको स्वरूप हो ।
पर्खालमा टाँसिएको सानो घडीले
ब्रह्माण्ड नाप्न खोज्छ
समय भने एक सासमै भत्काइदिन्छ
ती सबै सीमाहरू ।
घडी रोकिन सक्छ
थाकेर, बिग्रेर वा बिर्सिएर
तर समय कहिल्यै रोकिन्न
ऊ न अन्त्य हो, न आरम्भ ।
हामी घडी हेर्छौँ, समय गुमाउँछौँ
र अन्ततः भ्रममै भन्छौँ “समय बित्यो ।”
आज मैले शब्दहरूलाई नियमबाट मुक्त गरेँ
किनकि समय कहिल्यै कुनै संरचनामा बाँधिँदैन ।
अन्त्यमा
म पनि एउटा क्षणिक ‘टिक’ मात्र हुँ,
समयको असीम महासागरमा हराउने
एउटा नाम, एउटा प्रतिध्वनि ।

