गाउँतिर हिँडेको सिंहदरबार
यदि बेलैमा गाउँसम्म पुगेको भए
दरबारको छानो खरकै भए पनि
त्यसरी पटक–पटक जल्ने थिएन होला
पर्खालहरू माटोकै भए पनि
त्यसरी पटक–पटक ढल्ने थिएन होला ।
पानी पँधेरो सुक्ने थिएन होला
बस्तीको खुसी लुक्ने थिएन होला
न गुँडमा गौँथली हराउँथ्यो होला
न आँगनमा स्याल कराउँथ्यो होला ।
यदि सिंहदरबार गाउँसम्म पुगेको भए
सायद मायाले बुनेको गुन्द्रीमा
न्यायको आसन हुन्थ्यो होला
पानी पँधेरो र चौतारीको जस्तै
बराबर भाग लाग्ने
न्यायकै शासन हुन्थ्यो होला ।
गाउँतिर हिँडेको त्यो सिंहदरबार
कहाँ अल्मलिएको छ कुन्नि !
कमसेकम अब त गाउँमा पुगे हुन्थ्यो ।

