हिजो मेरो गाउँमा मानिसहरूको
उत्पात घुइँचो थियो
कुनै पनि बुट्यान, पाखाहरू
कहीँ पनि बाँझो बारी थिएन ।
सबै-सबै हराभरा थिए
हरियालीले छाएको थियो
मर्दा-पर्दा अर्मपर्म सबै थियो।
आज मेरो गाउँ
उजाड बनाई
सहर ढाकिएको छ।
त्यही सहर हो हिजो गाउँबाट
तरकारी ल्याएर चुलो बालेको
त्यही गाउँ हो हिजो सहरबाट
ढाकरका ढाकर नुन ल्याएर
गाउँको जीवन बचाएको।
मेरो गाउँ पनि सहरमा रूपान्तरण भएको छ
सहरका पिज्जा-बर्गर
मेरो भान्सामा समेत पाक्न थालेका छन् ।
गुन्द्रुक र ढिँडो सहर पसेका छन्
सहरका छोटा-छोटा कपडा
मेरा दिदीबहिनीका पहिरन भएका छन् ।
हिजोसम्म कुर्था-सुरुवाल नलगाउने आमाहरू
मिनिस्कटमा निस्कन थालेका छन्
त्यसैले मेरो गाउँ, गाउँ नभएर
सहरमा रूपान्तरण भएको छ ।
गाउँलाई उजाड बनाउँदै सहर पस्नेहरू
बस्तीसम्म आइरहेका छन्
आफ्नो जन्मथलो भन्दै
कर्मथलोबाट चाउचाउका कार्टुन बोकेर
गाउँ फर्किरहेका छन्
पोको-पन्तुरो बाँधेर ।
हामी भने आफ्नो कमाइको अंश छुट्याउँदै
सहरका गल्ली-गल्ली दौडिरहेका छौँ
खै कहाँ रह्यो र गाउँ र सहरको अस्तित्व ?
गाउँमा बसेकाहरू सहर खोजिरहेका छन्
सहरमा बस्नेहरू गाउँ खोजिरहेका छन् ।
महलमा बस्नेहरू बस्ती नियालिरहेका छन्
अनि बस्तीमा बस्नेहरू महलको सपना देखिरहेका छन् ।
सपना सबैले देख्ने नै रहेछ
बस! अन्तर यही नै छ
कोही खोला किन्ने सपना देखिरहेका छन्
कोही जनता लुट्ने सपना देखिरहेका छन् ।
अब हामीले महल होइन
दिगो बस्ती बनाउने सपना देखौँ
जहाँ गाउँ र सहरको बीचमा
कुनै भेदभाव नहोस् ।
केवल सद्भाव र प्रेमको मानकको रूपमा
अडिएको एउटा सुन्दर
बस्ती बनाउन सकियोस्
जहाँबाट देशको मुहार फेर्न सकियोस्
न्यायको बिगुल फुक्न सकियोस्।

