ऊ अर्थात्
एक आदिम शहरको
असभ्य मान्छे ।
व्यस्त चोक पेटीमा
अस्तव्यस्त लवाई
बेवारिसे हिंडाई
क्षतभ्रष्ट जिन्दगानी ।
शहरका सभ्यहरू जब
ऊ समीप भएर
राजसी कदम बढाउँछन्
ऊ ह्वस्सै गन्हाउँछ ।
टाढैबाट,
ऊ अर्थात्
यो शहरको
विकार चित्र।
आधुनिक शहर,
न छिमेकीले बासिन्दा चिन्छ
न चिन्छ बासिन्दाले छिमेकी
न चाडमा आँगन भरिन्छ
जसरी सुटुक्क सकिन्छ
कार्जे पार्टी प्यालेसमा
त्यसरी नै सुटुक्कै छिराउँछ
शव वाहनले पशुपति ।
ऊ अर्थात्
एक अनाम
आदिम शहरको
रवाफ देखी आतिन्छ
“गरीव नाथे… !!”,
ड्याम ड्यामी छाती पिट्छ
व्यस्त चोकको पेटीमा उभिएर
बेजोड हुङ्कार छाड्छ,
“गरीव मु…, मागिरहेछ सड काँ…,
ओई… ओई…मु..मुन्छे,
धनाढ्य मुन्छे…!
मुलाई चिन्या…..!!!
मु देश किनीदिन सक्छु !!”
हो,
ऊ देश किनिदिन सक्छ
देश बेच्ने दलालहरूको बीचमा
एक रातमै देश
खरानी बनाइदिन सक्ने
आधुनिक बिचौलियाहरूको बीचमा
ऊ एक रातमै देश
खरानी बनाइदिन सक्छ ।
ऊ अर्थात्
यो आदिम देशको
असभ्य मान्छे
जब एकाबिहानै अस्ताउँछ
नख्खु पुलमुनि
डडङी गन्हाउँछ यो शहर
भोलि बिहान पत्रकारले लेख्छ
“आदिम शहरको
एकलास गल्लीमा आज
कोही फ्यात्तै कुहिएको छ।”

