साहित्यपोस्ट डट कम

कविता : फेरि कसम खान मन लाग्यो

कविता : फेरि कसम खान मन लाग्यो

उ मलाई भन्छे, उ

मेरा घाउहरूमा फुउउउउ गरिदिन्छे रे

शीतल बनाइदिन्छे रे

मेरा सारा पीडाहरू हरिदिन्छे रे !

उ मलाई भन्छे उफफफफ नगर

उ मलाई निको गराइदिन्छे रे

फुउ गरिदिने, उफ नगराउने प्रीतसँग

मलाई कसम खान मन लाग्यो !

म उसलाई भन्छु तिमी मेरो प्रार्थना

उ भन्छे तिमी मेरो तपस्या

जब म सुटुक्क भन्छु तिमी मेरो अनन्त पर्खाइ

उ ढुक्क भई भन्छे तिमी मेरो अन्तिम लक्ष्य !

म उसलाई भन्छु तिमी मेरो धड्कन

उ भन्छे तिमी मेरो हर श्वास

जब म छरिदिन्छु आभास, उ फुलाइदिन्छे अनुराग

म जगाउँछु प्यास, अनि उ बर्साइदिन्छे मधुमास ।

उसँग हुँदा लाग्छ, म एक शिवलिङ्ग हुँ

र उ ममा लपक्क टाँसिएकी चन्दन

उफ नगराई फुउ गरिदिने यो प्रीतले मेटियो

जुनी–जुनीको तिर्खा, र भयो अमर मिलन !

उसको निष्ठा र अगाध समर्पणका सामु

जीवनका घाम–छायामा सँगै मुस्कुराउँदै

उसको खुसी र गौरवको बलियो सारथी बन्न

मलाई फेरि एउटा कसम खान मन लाग्यो !

साझा गर्नुहोस्:
उज्ज्वल भट्टराई

लेखकको बारेमा

उज्ज्वल भट्टराई

उज्ज्वल राज भट्टराई (उराभ) काठमाण्डु, नेपालमा जन्मे, हुर्के, इन्जिनियरको शिक्षादीक्षा लिई अमेरिकामा अध्ययन सकी न्यूयोर्कलाई आफ्नो कर्मभूमि बनाएर दुई दशक भन्दा बढी बिताइसकेका छन् । आगो, पाङ्ग्रा र शून्य पछिको चौथो सबैभन्दा महत्त्वपूर्ण मानव आविष्कार इन्टरनेट नै हो भनेर मान्ने उज्ज्वलले यही इन्टरनेटको प्रविधिलाई पेशाको रुपमा अँगालेका छन् । उनको पहिलो कवितासङ्ग्रह “अलिकति तरङ्ग अति धेरै भाव” हालैमा प्रकाशित भएको छ । यही सङ्ग्रहका केही रचनालाई यम बराल, प्रविशा अधिकारी र अन्यले स्वर दिएका छन् । उनलाई uj2wal@gmail.com मा सम्पर्क गर्न सकिन्छ ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.