एउटा गीत लेखूँ भने शब्द तिमीभित्रै थिए
सङ्गीतका धुन पनि तिमीभित्रै गुन्जिरहे ।
कहाँबाट चोरूँ तिम्रा मनका मीठा भाकाहरू ?
कहाँ बसी हेरूँ तिम्रा सुनकेशरी आँखाहरू ?
त्यहीँ डुलेँ, त्यहीँ भुलेँ, परेलीमा पिङ खेलेँ
तिमीलाई हेर्दाहेर्दै मैले गीत लेख्न भुलेँ ।
निधारमा आकाशका जुन–ताराहरू थिए
अधरमा हृदयका भावहरू चम्किरहे ।
सौन्दर्यको स्वर्ग थियो मुहारमा थरिथरि
मोहनीले भरिएको इन्द्रेणीको रङ्गसरि ।
त्यहीँ डुलेँ, त्यहीँ भुलेँ, परेलीमा पिङ खेलेँ
तिमीलाई हेर्दाहेर्दै मैले गीत लेख्न भुलेँ ।
शिरदेखि पाउसम्म तिमीलाई नै हेरिरहेँ,
तिम्रै छातीभित्र लुकी सँगै सास फेरिरहेँ ।
ममताको खानी थियो आँखाको त्यो नानीभित्र
जता हेर्यो त्यतै भुल्ने सिर्जनाको दिव्य चित्र ।
त्यहीँ डुलेँ, त्यहीँ भुलेँ, परेलीमा पिङ खेलेँ
तिमीलाई हेर्दाहेर्दै मैले गीत लेख्न भुलेँ ।