मध्यरातमा
एक्कासि जीवित हुन्छन्
एउटा पृथ्वीको एकजना मानिस ।
ब्युँझिएदेखि
चराचुरुङ्गीको ब्रह्ममुहूर्तको स्वर सुन्नसम्म
उनले विश्वका लागि मौन प्रार्थना गरिरहे ।
सुप्त सबै प्राणीप्रति उनलाई अकारण माया जाग्छ
अनि ब्युँझिएपछि प्राणीहरूले गर्ने विभिन्न कर्म–आचरणहरू
एक–एक गरेर उनका आँखामा तैरिन्छन् ।
मध्यरातको गहिरो अँध्यारोमा पनि उनका आँखाहरू चम्किन्छन्
वरिपरिका घटनाहरू दृश्यमान हुन्छन् ।
दृश्यमान चित्रहरूले बिस्तारै बोल्न थाल्छन्
केही समय कुरा सुनेपछि
उनी बिस्तारै ओछ्यानबाट ओर्लेर प्रातः भ्रमणमा निस्कन्छन् ।
प्रात भ्रमणको बेलामा उनी मानवताको जयगान गाउँछन्
पृथ्वीका पहरेदार रूखहरूले कान थापेर सुन्छन्
खुट्टाभित्र मुख लुकाई सुतिरहेका भुस्याहा कुकुरहरूले पनि
चिच्याएर जवाफ दिँदैनन् ।
झुल्के ताराले साक्षी बनेर मानवदयालु मानिसलाई साथ दिन्छन् ।
सूरज उदाएसँगै
उनी जन–जङ्गलमा अदृश्य हुन्छन् ।
कसैलाई थाहा हुँदैन, कसैले देख्दैन
एउटा पृथ्वीको एकजना मानिसलाई ।
मूल असमिया पर्या-कविता: गुण मरान
अनुवाद: डा. देवेन सापकोटा

