जुन दिन तिमी मदेखि
प्रकाशवर्ष टाढा भएर गयौ
धेरै दिनसम्म मलाई
भोक लागेन
प्यास लागेन
निद्रा लागेन
त्यसै–त्यसै आकाशको घाम–जुन हेरिबसें
देउरालीको चप्लेटीमाथि पश्चिम फर्केर टोलाइरहें
सल्लेरी वनमा विरही पालाम गाइहिंडें
र
एक दिन
यति मात्रै त जीवन होइन सोचेर
फर्कें– आफ्नै जिन्दगीको उकाली–ओराली
तमोरमा कति पानी बग्यो ?
त्यो बुढो पैयुँको बोटले कति वसन्त चोला फेर्यो ?
अझै पनि उस्तै आउँछ याद
… त्यो जुनेली रात
… त्यो सल्लाघारी
सिरसिर बतासको स्पर्श
खोलाको सुसेली
जहाँ हामीले
नापेर उचाइ जिन्दगीको
छामेर गहिराइ जिन्दगीको
कोरेका थियौं– सपनाको एउटा नक्सा
यो पल
कथा बनिसकेको उही निर्जीव सपनाको समाधिमाथि उभिएर
सम्झिरहेछु– तिम्रो अधरमा फक्रिने गुराँस
एकदिन भनेथें– जो सधैं हाँसिरहोस् यसरी नै
सम्झनु !
त्योभन्दा पर खुसीको अर्को परदेश छैन मेरो
त्योभन्दा माथि खुसीको अर्को आकाश छैन मेरो
टाढा हुनु नै त नजिक हुनु रै’छ
नजिक हुनु नै त टाढा हुनु रै’छ
सायद !
मायाको बस्तीमा नचलेको भए आँधी
विश्वासको नदीमा नआएको भए बाढी
एउटै सपना बग्दाबग्दै नछुट्टिएको भए छुट्टाछुट्टै भँगालो हामी
भन्न सक्दिनँ कि ! यो जीवन रहेसम्म तिमीलाई
यस्तै माया गरिरहन पाउँथें !

